महिला त्रिकोणात्मक टी- ट्वान्टी आई सिरिजमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित

माघ २२, २०८१ |खेल ब्युरो
महिला त्रिकोणात्मक टी- ट्वान्टी आई सिरिजमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित

काठमाडौं । महिला त्रिकोणात्मक टी- ट्वान्टी आई सिरिजमा नेपालले लगातार चौथो हार बेहोरेको छ । आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको हो ।

यस हारसँगै नेपालको सिरिज जित्ने सम्भावना समाप्त भएको छ । अपराजित थाइल्याण्डले लगातार चौथो जितसहित सिरिज जित्ने सम्भावना बलियो बनेको छ । मनिषा उपाध्यायले सानदार बलिङ गर्दै थाइल्याण्डलाई मध्यम योगफलमा रोके पनि नेपालले ब्याटिङमा खास प्रदर्शन गर्न सकेन ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनको मध्यम योगफल तयार गरेको थियो । थाइल्याण्डका लागि नान्नापतले १९ तथा अफिसाराले १७ रन जोडिन् । छपन्न रनमा ६ विकेट गुमाएर खराब अवस्थामा पुगेको थाइल्यान्डका लागि चानिदा र थिपचाले छपन्न रनको साझेदारी गरे । चानिदा सर्वाधिक २७ र थिपचा २५ रनमा अविजित रहे । नेपालका लागि मनिषा उपाध्यायले ३, पुजा महतो र रचना चौधरीले समान १-१ विकेट लिईन् । रचनाका लागि सिनियर टिमबाट यो डेब्यू खेल थियो ।

जवाफमा १ सय ७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १ रन मात्र बनाउन सक्यो । खराब सुरुवात गर्दै ८ रन जोड्दा ४ विकेट गुमाइसकेको नेपालका लागि पूजा महतो र रुविना क्षेत्रीले ४४ रनको साझेदारी गरे । पूजा १८ रनमा आउट भइन् । रुबिनाले सर्वाधिक २६ रन जोडिन् । कविता जोशी २४ रन बनाउँदै आउट हुँदा रोमा थापा १९ रनमा नट आउट रहिन् । थाइल्याण्डका लागि थिपचाले ४ तथा मायाले २ विकेट लिइन् ।

जितसँगै थाइल्यान्डले ४ खेलमा ८ अंक जोडेको छ । अपराजित थाइल्यान्ड तालिकाको शीर्ष स्थामना छ । अंक बिहिन नेपाल पुछारमा छ । नेदरल्यान्ड्सले ४ खेलमा ४ अंक जोडेको छ । सिरिजमा भोलि नेपाल र नदरल्यान्ड्स प्रतिस्पर्धा गर्ने छन् ।