काठमाडौं । महिला टी-ट्वान्टी आई त्रिकोणात्मक सिरिजको आफ्नो चौथो खेलमा नेपालले आज थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल सिरिजमा पहिलो जीतको खोजीमा छ ।
कीर्तिपुर स्थित टीयू मैदानमा खेल सवा १२ बजे सुरु हुनेछ । इन्दु बर्माको टिम लगातार पाँच खेलदेखिको जीतविहीन यात्रामा पूर्णविराम लगाउने लक्ष्यमा हुनेछ । यसै सिरिजमा यसअघि खेलेका तीन खेलमा पनि नेपालले जीत हात पार्न सकेन ।
थाइल्यान्डसँगको पहिलो खेलमा नेपाल ४ विकेटले पराजित भएको थियो । सो खेलमा नेपालले ९ विकेट गुमाएर १ सय १ रन मात्र बनाएको थियो । थाइल्यान्डविरुद्ध नेपालले बनाएको यो अहिलेसम्मको उच्च योगफल हो । कविता कुँवर र विन्दु रावलले २५-२५ रन बनाएका थिए । जवाफमा थाइल्यान्डले एक ओभरअघि नै लक्ष्य पूरा गर्यो ।
महिला सिनियर टिमले थाइल्यान्डलाई हराउन नसकेको १२ वर्षभन्दा बढी समय भइसकेको छ । सन् २०१९ मा भएका दुई खेलमा नेपाल ७० र ५७ रनले पराजित भएको थियो । २०२३ मा ४६ रनको हार बेहोर्यो ।
सिरिजमा नेदरल्यान्ड्ससँगका दुवै खेल पनि नेपालले गुमाइसकेको छ । अघिल्लो खेलमा डच टिमविरुद्ध १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपाल १ सय २५ रनमा रोकियो । सीता राना मगरले नेदरल्यान्ड्सका पाँच विकेट लिए पनि त्यो जितको आधार बन्न सकेन । खराब फर्मसँगै कविता कुँवरको चोटले नेपाललाई थप धक्का लागेको छ । नेदरल्यान्ड्ससँगको खेल गुमाएकी कविता सिरिजमा फर्किने सम्भावना न्यून छ । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो ।
सिरिजमा थाइलयान्ड ३ मा ३ खेल जित्दै ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । यदि, नेपाललाई आज पराजित गरे थाइल्यान्ड उपाधि नजिक पुग्नेछ । दोस्रो स्थानको नेदरल्यान्ड्सको ४ खेलबाट ४ अंक छ । पुछारमा रहेको नेपाल अंकविहीन छ । यदि थाइल्यान्डलाई हराउने हो भने नेपालले फिल्डिङ र रनिङ रन रोटेमा उल्लेख्य सुधार गर्नुपर्नेछ ।