काठमाडौं । नेपालकी पूजा महतो आईसीसी महिला अन्डर नाइन्टिन टी ट्वेन्टी विश्वकपको टिम अफ द टुर्नामेन्टमा परेकी छन् । हिजो भएको फाइनल खेलमा भारतले उपाधि जितेको प्रतियोगितामा नेपाली अन्डर नाइन्टिन टिमकी कप्तान पूजा महतो प्रतियोगिताकै उत्कृष्ट १२ खेलाडीमा परेकी हुन् ।
नेपाली स्किपर तथा अलराउन्डर पूजाले प्रतियोगितामा ७० रन बनाउनुका साथै ९ विकेट लिएकी थिइन् । उनले मलेसिया विरुद्धको खेलमा ९ रन मात्रै खर्चिएर ४ विकेट लिएकी थिइन् ।
एसोसिएट राष्ट्रबाट छनोट हुनेमा पूजा एक्ली खेलाडी हुन् । अन्डर नाइन्टिन विश्वकपको टिम अफ द टुर्नामेन्टमा भारतका चार खेलाडी छन् । भारतका गोङ्गादी तृषा, कामालिनी गुनलान, आयुषी शुक्ला र वैष्णवी शर्मा रहेका छन् ।
प्रतियोगितामा ३०९ रन बनाएकी तृषा विश्वकपकै सर्वोत्कृष्ट खेलाडी बनिन् । आईसीसीले आज जारी गरेको उत्कृष्ट १२ मा दक्षिण अफ्रिका तीन र इङ्ल्यान्डका २ खेलाडी छन् । अस्ट्रेलिया, नेपाल र श्रीलंकाका एक-एक खेलाडी छन् ।