ईपीएल : वेस्ट ह्यामको आत्मघाती गोलका कारण चेल्सी विजयी

माघ २२, २०८१ |खेल ब्युरो
ईपीएल : वेस्ट ह्यामको आत्मघाती गोलका कारण चेल्सी विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा चेल्सीले वेस्ट ह्यामलाई हराएको छ। चेल्सीको स्ट्यामर्फड ब्रिजमा भएको खेलमा घरेलु टोलीले वेस्ट ह्यामलाई २-१ ले हराएको हो ।

चेल्सीको जितमा पेड्रो नाटोले एक गोल गरे भने वेस्ट ह्यामका वान बिसाखाले आत्मघाति गोल गरेपछि चेल्सी विजयी भएको हो । खेलको १८औं मिनेटमा क्रसवेल्सले पोस्टअघिबाट गरेको प्रहार गोलकिपरले रक्षा गरेका थिए । खेलको १९औं मिनेटमा चेल्सीले दोस्रो अटेम्पट गरे पनि बल पोस्ट माथिबाट बाहिरिएको थियो । यसैगरी, ज्याक्सनले पाल्मरका लागि मिलाइ दिएको पासमा उनले बक्स नजिकैबाट गरेको प्रहार पनि बाहिरिएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिन लागेको अवस्थामा वेस्ट ह्यामले गोल गर्‍यो । चेल्सीको कोलविलले दिएको ब्याकपास खोसेर बोवेनले गोल गरेका थिए । यससँगै पाहुना टोली पहिलो हाफमा १-शून्य गोलले अघि रह्यो ।

निकोलस ज्याक्सन खेलका क्रममा गम्भीर तरिकाले लडेपछि उनलाई प्रशिक्षकले दोस्रो हाफको सुरुमै सब्सिच्युट गरेका थिए । एक गोलले पछि परेको चेल्सीले दोस्रो हाफको सुरुबाटै खेलमा रणनीतिक परिवर्तन गर्‍यो । पटक-पटक पोस्ट अटेम्प्टमा गल्ती गरेपछि प्रशिक्षकले स्ट्राइकर परिवर्तन गरेका थिए । यससँगै खेलको ६४औं मिनेटमा चेल्सी गोल गर्न सफल भयो । ५२औं मिनेटमा मैदान प्रवेश गरेका पेड्रो नाटोले रिबाउन्ड बलमा गोल गरेका थिए । उनीभन्दा पहिले फरनान्डेसले प्रहार गरेको बल रिबाउन्ड भएको थियो ।

त्यसैगरी, खेलको ७४औं मिनेटमा वेस्ट ह्यामका वान बिसाखाले आफ्नै पोस्टमा गोल गरेपछि चेल्सी २-१ ले विजयी भयो ।