लेबनानका लागि फुटबल खेल्ने सपना बोकेर हिँडिरहेकी सेलिनलाई इजरायली आक्रमणले कोमामा पुर्‍यायो

मंसिर ९, २०८१ |खेल ब्युरो
लेबनानका लागि फुटबल खेल्ने सपना बोकेर हिँडिरहेकी सेलिनलाई इजरायली आक्रमणले कोमामा पुर्‍यायो

काठमाडौं । युद्ध, कुनै पनि विषयको समाधान होइन । न विगतमा थियो, न त भविष्यमा नै हुनेछ । युद्धले द्वन्द्व अन्त्य गर्न सक्ला तर समाधान गर्दैन । सपनाहरुको हत्या गर्छ र कहिल्यै निको नहुने घाउ लगाइ दिन्छ । मध्यपूर्वी राष्ट्र लेवनानमा युद्धका क्रममा घाइते भएकी आफ्नी छोरी निको हुने पर्खाइमा अस्पताल बाहिर कुरेर बसिरहेका आमा बुबाले पोखेको पीडा हो यो । फुटबलमा उदाउँदै गरेकी सेलिन हैदर इजरायली हवाई आक्रमणमा परेर गम्भीर घाइते भएपछि उनको परिवार विक्षिप्त बनेको हो ।

सबै कुरा ठिक भएको भए, सेलिन हैदर यतिबेला फुटबल मैदानमा अभ्यास गरिरहेकी हुन्थिन् । विपक्षीलाई पराजित गर्ने योजना बनाइरहेकी हुने थिइन् । तर अहिले सेलिन बेरुतस्थित सेन्ट जर्ज अस्पतालमा जीवन र मृत्युसँग लडिरहेकी छन् । चिकित्सकीय भाषामा उनी कोमामा छिन् । उनको परिवारका सबै सपना पनि कोमामा छन् । सेलिनको फुटबल करियर मात्र होइन जीवन नै अनिश्चित छ ।

गत नोभेम्बर १६ मा दक्षिण बेरुतमा रहेको आफ्नो घर नजिकै सेलिन इजरायली सेनाको हवाई आक्रमणमा परेकी हुन् । बेरुत फुटबल एकेडेमीकी कप्तान सेलिन लेबनान महिला फुटबलकी उदीयमान खेलाडी हुन् । सेन्ट्रल मिडफिल्डर उनी सर्जियो बुस्केटको उपनामले समर्थक माझ परिचित छिन् । आफ्नो पोजिसनमा बार्सिलोनाका पूर्वखेलाडी स्पेनिस बुस्केट जस्तै स्किल्स प्रस्तुत गर्ने सेलिनले अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिनिधित्व गरिसकेकी छन् ।

अन्डर नाइनिटन टिमबाट दुई पटक खेलेकी १९ वर्षीया सेलिनले इजरायलको आक्रमणबाट डराएर अभ्यास नछोड्ने निर्णय लिइन् । जबकि उनको आफ्नै परिवार दक्षिणी बेरुतबाट भागेर उत्तरी बेरुतको पहाडमा पुगेको छ । सेलिनले सुरक्षित भएर अभ्यास गर्ने विश्वास दिलाएपछि परिवारले रोक्न सकेन् । 

इजरायलले बम, रकेट प्रहार गर्ने समयमा छिमेकी देशका नागरिकलाई सुरक्षित स्थानतर्फ जान चेतावनी सन्देश दिने गर्छ । सेलिन त्यही सन्देश पछ्याउँदै फुटबल करियरलाई अघि बढाइरहेकी थिइन् । तर अघिल्लो शनिबार उनी सुतिरहेका बेला इजरायली सेनाले जारी गरेको चेतावनी सन्देश उनले थाहै पाइनन् ।

घरबाट फोन आयो, तत्काल सुरक्षित स्थानमा जान भनियो । तर त्यति बेलासम्म ढिला भइसकेको थियो । सेलिन आफ्नो मोटरसाइकलमा चढेकी मात्र के थिइन, इजरायली युद्ध विमानको प्रहार उनीमाथि बज्रियो । उनको मष्तिस्कमा गम्भीर चोट लागेको छ । कतिसम्म घाइते छिन् भन्नेबारे चिकित्सक पनि भन्न चाहाँदैनन् । उनको जीवन अहिले आईसीयुको मोनिटर र तारहरुमा भर परेको छ । सेलिनका बुबा अब्बास र साना चमत्कार हुन्छ की भन्ने आशमा छन् । हैदर प्रश्न गर्छन्- मेरी छोरीको सपना किन ध्वस्त पारिदिएको ? उसले कसको के बिगारेको छ, आखिर के का लागि ? तर उनको प्रश्नको जवाफ दिने कोही छैन ।

सेलिनकी आमा भन्छिन् - आफ्नै देशलाई सिध्याएर के हुन्छ ? युद्धको समाधान गर्ने एक मात्र माध्यम वार्ता र छलफल हो ।

अभ्यास मैदानमा सेलिनको ठूलो पोस्टर टांगिएको छ अनि लेखिएको छ- हामी पर्खिरहेका छौं । १८ वर्षीया टिम मेट लामा आब्दिन भन्छिन्- विश्वास डरभन्दा शक्तिशाली हुने रहेछ । सेलिनको सपनालाई कोमामा जान नदिन उनीहरु खेलिरहेका छन् । 

सेलिनका प्रशिक्षक समिर बारबेरीले महिलाका लागि अवस्था एकदमै नाजुक रहेको बताए । तर सेलिन जस्ता बहादुर खेलाडीका कारण एकदिन सब ठिक हुने उनको विश्वास छ । राष्ट्रिय टिममा पनि छनोट भइसकेकी सेलिन इजरायली सैन्य आक्रमणबाट घाइते भएका १५ हजार लेवनानी नागरिकमध्ये एक हुन् ।

सेलिनले सानै उमेरमा धेरै कठिन विपक्षीलाई पराजित गरेर जित हात पारेकी छन् । उनकी आमालाई विश्वास छ- सेलिन फेरि विजेता बन्नेछिन् र मुस्कुराउँदै घर फर्कनेछिन् ।