काठमाडौं । भारतको कर्नाटक अन्डर-१९ विरुद्धको तेस्रो एक दिवसीय अभ्यास खेलमा नेपालले फराकिलो जित हात पारेको छ । एसीसी पुरुष अन्डर-१९ एसिया कपको तयारीमा रहेको नेपालले कर्नाटक अन्डर-१९ विरुद्ध १ सय २१ रनको विशाल जित हात पारेको हो ।
पाँच खेलको एक दिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा पराजित भएको नेपाली युवा टोलीले त्यसपछि लगातार २ खेल जित्दै सिरिजमा २-१ को अग्रता बनाएको छ । नेपालको जितमा ३ जना ब्याटरले अर्धशतकीय इनिङ्स खेल्दा लेफ्ट आर्म स्पिनर नरेन साउदले ४ विकेट लिए । मूलपानी क्रिकेट मैदानमा भ्रमण टोलीले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको नेपालले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८२ रनको योगफल तयार पारेको थियो ।
आकाश त्रिपाठी र मयन यादवले चुनौतीपूर्ण सत्रमा संयमित ब्याटिङ गर्दै नेपालका लागि विशाल योगफलको आधार तय गरे । यी दुवै खेलाडीले प्रारम्भिक जोडीको रुपमा १३ ओभरमा ६३ रनको साझेदारी गरे । आकाश २६ रनमा बाहिरिए ।
अर्जुन कुमाल र मयनले अर्को अर्धशतकीय साझेदारी गरे । अर्जुन २७ रन बनाएर बोल्ड भए । मयनले ९८ बलमा ६ चौका र २ छक्कासहित ५८ रन जोडे । नरेन भट्ट १४ रनमा बाहिरिए । उत्तम थापाले ४४ बलमा ५२ रनको योगदान दिए । आक्रामक ब्याटिङ गरेका रोशन बिक ८१ रनमा अविजित रहे । उनले ५७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । कर्नाटकका लागि लोहिथ र वासुले २-२ विकेट लिए ।
२ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कर्नाटकले ४० ओभर २ बलमा अलआउट हुँदै १ सय ६१ रन मात्र बनाउन सक्यो । कर्नाटकका प्रतिकले २३, गगन रोयले ४६ र शिवले २३ रन बनाए । नेपालका लागि नरेनले ४ विकेट लिँदा युवराज खत्रीले ३ र अपराजित पौडेलले १ विकेट हात पारे । दुई टोलीबीचको चौथो खेल मंगलबार र अन्तिम खेल बिहीबार हुनेछ ।