ललित स्मृति एन्फा यू-१८ लिगको लिगलिडर पुलिसको पहिलो हार, एनआरटी ४-२ ले विजयी

मंसिर २, २०८१ |खेल ब्युरो
ललित स्मृति एन्फा यू-१८ लिगको लिगलिडर पुलिसको पहिलो हार, एनआरटी ४-२ ले विजयी

ललितपुर । ललित स्मृति एन्फा यू-१८ लिगको लिगलिडर पुलिसले पहिलो हार ब्यहोरेको छ । ९ खेलसम्म अपराजित पुलिस आज दशौं खेलमा भने न्युरोड टिम एनआरटीसँग ४–२ ले पराजित भयो ।

एनआरटीलाई जित दिलाउन कप्तान विज्ञान खड्का र फरवार्ड इशान शाहको 'डुओ'ले उत्कृष्ट प्रदर्शन गर्‍यो । खेलको पाँच मिनेटमा पुलिसले पहिलो गोल ब्यहोर्यो । पुलिसका डिफेन्डरले क्लियर गर्न नसकेपछि एनआरटीका अर्जित तामाङले पोस्टतर्फ प्रहार गरेका थिए । सोही अवसरमा पुलिसका गोलकिपरलाई छक्याउँदै सन्तोष गोङ्बाले हेडर गोल गरेका थिए । 

११औं मिनेटमा नै पुलिस बराबरी गोल फर्काउन सफल भयो । प्रशान्त मोक्तानले सेन्टर नजिकैबाट प्रहार गरेको फ्रि–किकमा साजन राज गौतमले हेडर गोल गरे ।

पुलिसले १८औं मिनेटमा अग्रता आफ्नो पक्षमा ल्याएको थियो । कुशहाङ नेम्बाङले आफ्नो मैदान तर्फबाट दिएको लामो पासलाई रोक्न एनआरटीका गोलकिपर बक्स बाहिर आएपछि साजनले गोलकिपर र डिफेन्डर बिट गरेर सुन्दर गोल गरे । यससँगै पुलिसले २–१ को अग्रता बनायो । 

तर, एनआरटीले पहिलो हाफमै दुई गोल फर्कायो । ३९औं मिनेटमा कप्तान विज्ञान खड्काको पासमा इशान शाहले बराबरी गोल गरे। ४१औं मिनेटमा इशानको पासमा विज्ञानले गोल गरेपछि एनआरटीले पहिलो हाफमै ३–२ को अग्रता बनायो । 

दोस्रो हाफमा पनि एनआरटी उत्कृष्ट लयमा नै देखियो । ५१औं मिनेटमा सन्तोषको क्रस गोलकिपर सागर चन्दले नियन्त्रणमा लिन नसक्दा त्यसलाई इशानले गोलमा परिणत गरेपछि एनआरटी ४-२ ले विजयी भयो । 

आजको हारका बाबजुद पनि पुलिस १० खेलबाट २३ अंकका साथ लिगको शीर्षस्थानमा कायमै छ । एनआरटी १० खेलबाट १९ अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ । आजको नतिजासँगै शीर्ष तीनमा रहेका टिमबीच पेचिलो प्रतिस्पर्धा सुरु भएको छ ।