सम्झनामा दमननाथ ढुंगाना...

मंसिर २, २०८१ |कान्तिपुर टीभी संवाददाता
सम्झनामा दमननाथ ढुंगाना...

काठमाडौं । २०४७ सालको संविधान निर्माण, २०४८ सालदेखि ५१ सालसम्म सभामुख र ६२-६३ सालमा शान्ति प्रकृयाका पक्षमा वरिष्ठ राजनीतिज्ञ दमननाथ ढुंगानाले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रह्यो । तत्कालीन सशस्त्र विद्रोही माओवादीलाई शान्ति प्रकृयामा ल्याउन भूमिका खेलेका वरिष्ठ मानव अधिकारवादी नेता ढुंगानाले संसदलाई प्रभावकारी बनाउन र राजनीतिक नेतृत्व जवाफदेही बन्नुपर्नेमा जीवनभर वकालत गर्नुभयो ।

पछिल्लो समय सकृय राजनीतिमा नरहे पनि दमननाथ ढुंगाना लोकतन्त्रको पक्षमा सधैँ खबरदारी गर्दै आउनुभएको थियो । उहाँ लोकतन्त्रको संस्थागत विकासका लागि नागरिक अधिकारलाई पहिलो शर्त मान्नुहुन्थ्यो ।

वि.स. १९९८ सालमा काठमाडौंमा जन्मनु भएका ढुंगानाले पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गनुभएको हो । केही समय शिक्षण पेसामा आवद्ध उहाँले २०२८ देखि दुई दशक लामो वकालत पेसा गर्नुभयो ।

२०४६ सालको आन्दोलनका बेला नेपाली कांग्रेसका प्रवक्ता रहनु भएका ढुंगाना २०४८ सालमा काठमाडौं क्षेत्र नम्वर २ बाट निर्वाचित भएपछि प्रतिनिधिसभाको सभामुख बन्नुभएको थियो ।

उहाँ भन्ने गर्नुहुन्थ्यो- 'सदन चलाउने, सदनमा बोल्ने काममा प्रतिपक्ष लाग्नुपर्छ, सदन अवरुद्ध गर्ने काममा प्रतिपक्षी लाग्नु हुँदैन ।'

२०५१ सालसम्म सभामुख रहँदा स‌‌ंसदीय अभ्यासलाई मर्यादित बनाउन उहाँले देखाएको सक्रियताको सबैले प्रशंसा गर्दछन् । लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि महत्त्वपूर्ण योगदान गर्नुभएका ढुंगानाले २०६२/६३ सालको जनआन्दोलन, संविधान निर्माण, गणतन्त्र स्थापनामा पुर्‍यानु भएको योगदान निकै महत्त्वपूर्ण मानिन्छ ।

मानवअधिकारको आन्दोलनहरुमा सक्रिय वरिष्ठ राजनीतिज्ञ ढुंगानाले सशस्त्र संघर्षरत माओवादी विद्रोहलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका खेल्नु भएको थियो । २०६२/०६३ को गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा ढुंगानाले नागरिक समुदायको नेतृत्व गर्नुभएको थियो ।

२०१७ सालमै राजा महेन्द्रले कू गरेपछि विद्यार्थीलाई एकजुट बनाउने काम गरेका ढुंगानाले सक्रिय वकालतमा रहँदा उहाँले बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीमाथि लगाइएका मुद्दा समेत लड्नुभएको थियो ।

बहुदलीय व्यवस्थापछि पार्टी राजनीतिमा सक्रिय ढुंगाना पछिल्लो समय २०७४ मा भक्तपुर २ बाट चुनावी प्रतिस्पर्धा गर्नुभएको थियो । चुनावमा पराजित भएसँगै उहाँको राजनीतिक सक्रियता घटेको थियो ।

ढुंगानाले जीवन पर्यन्त राजनीतिक दल र नेताहरुको नैतिक धरातल बलियो हुनुपर्ने वकालत गरिरहनुभयो । नेपालको राजनीतिक, संवैधानिक र नागरिक अधिकारका लागि अथक साधना गरिरहेका राजनीतिज्ञ दमननाथ ढुंगानालाई हार्दिक श्रद्धासुमन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.