एटीपी फाइनल्सको उपाधिका लागि यानिक र टेलरबीच प्रतिस्पर्धा हुने

मंसिर २, २०८१ |कान्तिपुर टीभी संवाददाता
एटीपी फाइनल्सको उपाधिका लागि यानिक र टेलरबीच प्रतिस्पर्धा हुने

काठमाडौं । एटीपी फाइनल्सको उपाधिका लागि विश्व नम्बर एक यानिक सिनर र टेलर फ्रिट्जबीच प्रतिस्पर्धा हुने भएको छ ।

इटालीको ट्युरिनमा भएको खेलमा घरेलु खेलाडी सिनरले नर्वेका कास्पर रुडलाई सोझो सेटमा पराजित गरेका हुन् । समर्थकको पूर्ण साथ पाएका २३ वर्षीय सिनरले उत्कृष्ट खेल प्रदर्शन गरे ।

उनले पहिलो सेट सहजै ६-१ ले आफ्नो पक्षमा पारेका थिए । दोस्रो सेटमा पनि सन् २०२२ का उपविजेता रुडले सिनरको लय तोड्न सकेनन् । यो सेट ६-२ ले जितेपछि सिनरले लगातार दोस्रो वर्ष फाइनल यात्रा तय गरेका हुन् ।

उनी सिजनको अन्तिम प्रतियोगिता एटीपी फाइनल्स जित्ने पहिलो इटालियन बन्ने लक्ष्यमा छन् । सिनरले फाइनल पुग्दासम्म एक सेट पनि गुमाएका छैनन् । रुडलाई हराउन उनले केबल ७० मिनेट समय लगाएका थिए । यस्तै अमेरिकाका फ्रिट्जले उपाधिनजिक पुग्ने क्रममा जर्मनीका अलेक्जेन्डर ज्वेरेभलाई तीन सेटमा स्तब्ध पारे ।

उनले दोस्रो वरीयताका ज्वेरेभविरुद्धको पहिलो सेट ६-३ ले जित्दै उत्कृष्ट सुरुवात गरे । दोस्रो सेटमा ज्वेरेभले पुनरागमन गरे र ६-३ को जीत हात पारे । रोमान्चक र प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट टाइब्रेकरमा पुग्यो । तर फ्रिट्जले ७-६ ले नतिजा आफ्नो पक्षमा पारे । फ्रिट्ज सन् २००६ यता यो प्रतियोगिताको फाइनल पुग्ने पहिलो अमेरिकी खेलाडी हुन् ।

पछिल्लो पटक १९९९ मा पिट साम्प्रासले अमेरिकाका लागि एटीपी फाइनल्सको उपाधि जितेका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.