एनपिएलका ८ फ्रेन्चाइज क्लबले विश्वकपमा पुगेको नेपाली टिमलाई १० लाख पुरस्कार दिने

कार्तिक ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपिएलका ८ फ्रेन्चाइज क्लबले विश्वकपमा पुगेको नेपाली टिमलाई १० लाख पुरस्कार दिने

काठमाडौं । नेपाल प्रिमियर लिगका ८ फ्रेन्चाइज क्लबहरुले आईसीसी अन्डर-१९ महिला टी-२० विश्वकपमा पुगेको नेपाली टिमलाई १० लाख पुरस्कार दिने घोषणा गरेको छ । 

एनपिएलका टिमहरुले आज सामाजिक सञ्जालमा सूचना जारी गर्दै नेपाली टिमलाई पुरस्कृत गर्ने घोषणा गरेका हुन् । नेपाली यू-१९ महिला टिम यूएईमा भएको एसिया छनोटको विजेता बनेर अर्को वर्षका जनवरी र फेब्रुअरीमा मलेसियामा हुने विश्वकपमा छनोट भएको हो । बिहिबार साँझ नेपाल फर्किएको टिमलाई क्यानले विमानस्थलमा भव्य स्वागत गरेको थियो ।

छनोटको अन्तिम खेलमा यूएईलाई ८ विकेटले हराएर नेपाल विश्वकपमा पुगेको हो। छनोटमा कुवेतसँगको खेलमा नेपाली उमेर समूहको टिमकी कप्तान पुजा महतोले शतक प्रहार गरेकी थिइन्।

यो टिमलाई एनपिएलका विराटनगर, जनकपुर, काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमले सामुहिक रुपमा पुरस्कार दिने भएका हुन्।

नेपाल पहिलो पटक महिला क्रिकेटको कुनै पनि विधाको विश्वकपमा पुगेको हो । सँग-सँगै नेपाली उमेर समूहको टोली एसिया कपमा पनि छनोट भएको छ । एसिया कप अर्को महिना मलेसियामा आयोजना हुँदैछ। नेपाल समूह बी मा भारत र पाकिस्तानसँग रहेको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.