काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले कांग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रुपमा आफूविरुद्ध कुप्रचार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका दिनुभएको छ ।
अनुशासन समितिमा बिहीबार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा सांसद तथा पर्यटन व्यवसायी बजगाईंले आफू मन्त्री नियुक्त भएदेखि नै शृखलाबद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरुमा कुप्रचार गर्दै आएको पाण्डेले उजुरीमा उल्लेख गर्नुभएको छ ।
उजुरीमा भनिको छ, 'नेपाली कांग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ । लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ।'
बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा मन्त्रीले भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जलमा पोस्ट गर्नुभएको थियो । सो पोस्टसम्बन्धी समाचार सार्वजनिक भए लगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिनुभएको थियो ।
त्यसपछि सांसद बजगाईंले पाण्डेविरुद्धका सबै पोस्टहरु केही घण्टापछि नै सामाजिक सञ्जालबाट हटाउनुभएको थियो ।