काठमाडौं । दक्षिणपूर्वी अफ्रिकी मुलुक मोजाम्बिकमा राष्ट्रपतीय निर्वाचनको परिणामलाई लिएर उत्पन्न राजनीतिक अशान्ति जारी रहेको छ । विरोध प्रदर्शनको फाइदा उठाउँदै बुधवार राजधानी मापुटोस्थित जेलबाट १५ सयभन्दा बढी कैदी फरार भएको प्रहरीले जनाएको छ ।
सुरक्षाकर्मीसँग भएको झडपमा ३३ जना मारिएको र १५ जना घाइते भएको प्रहरी प्रमुख बर्नारडिनो राफेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । भगौडा कैदीमध्ये करिब १५० जनालाई पुनः गिरफतार गरिएको राफेलले जानकारी दिनुभयो ।
सरकार विरोधी प्रदर्शनकारीको समूह जेलमा पुगेको र भित्र रहेका कैदीहरूले मौकाको फाइदा उठाउँदै जेलको भित्ता भत्काएर फरार भएको उहाँले बताउनुभयो ।
गत अक्टोबरमा विवादास्पद निर्वाचन भएदेखि नै मोजाम्बिक अशान्त रहँदै आएको छ । निर्वाचनको आधिकारिक परिणामले करिब ५० वर्षदेखि सत्तामा रहँदै आएको फ्रेलिमो पार्टीका उम्मेदवार ड्यानियल चापो विजयी भएको देखाएको छ । विपक्षीहरूले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन् । देशको संवैधानिक अदालतले चापो नै विजयी भएको निर्णय सुनाएपछि सोमबारदेखि पुनः विरोध प्रदर्शन सुरू भएको हो ।
अक्टोबरमा जारी निर्वाचन परिणामले चापोले आफना प्रतिस्पर्धी भेनासिनो मोन्डलेनको २० प्रतिशत मत विरुद्ध ७१ प्रतिशत मत पाएको देखाएको थियो । सोमबार संवैधानिक अदालतले मत परिणामलाई केही सच्याउँदै चापोले ६५ प्रतिशत र मोन्डलेनले २४ प्रतिशत मत पाएको फैसला सुनाएको थियो । देश बाहिर रहेका मोन्डलेनले मतदानमा धाँधली भएको भन्दै आफना समर्थकहरूलाई विरोध प्रदर्शन गर्न आह्वान गर्दै आउनुभएको छ ।
प्रदर्शनकारीहरूले सत्तारुढ फ्रेलिमो पार्टीको कार्यालय, प्रहरी कार्यालय, ब्यांक र फ्याक्ट्रीहरूमा तोडफोड र लुटपाट गर्नुका साथै आगो लगाउने काम गरेका छन् । विगत तीन महिनादेखि जारी विरोध प्रदर्शनका क्रममा करिब १५० जना मारिएका छन् ।