टि-२० विश्वकपमा पुग्ने लक्ष्यका साथ नेपाली यू-१९ महिला टोली आज यूएईसँग भिड्दै

कार्तिक २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
टि-२० विश्वकपमा पुग्ने लक्ष्यका साथ नेपाली यू-१९ महिला टोली आज यूएईसँग भिड्दै

काठमाडौं । आइसीसी यू-१९ महिला टि-२० विश्वकप एसिया छनोटको निर्णायक खेलमा नेपालले आज यूएई सँग प्रतिस्पर्धा गर्दैछ । यूएई तालिकाको शीर्ष र नेपाल दोस्रो स्थानमा छ । 

यूएईको द सेभेन्स स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ । सन २०२५ मा मलेसियामा हुने विश्वकपमा स्थान बनाउनका लागि यो खेल महत्वपूर्ण छ ।

जारी प्रतियोगितामा पाँच खेलमा चारमा जित र एकमा हार बेहोरेको नेपाल ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । नेपालले हार बेहोरेको यूएई सँग नै हो ।

लिगको पहिलो चरणमा यूएईले नेपाल माथि १३ रनको जित हात पारेको थियो । सो खेलमा नेपालले १ सय २३ रनको लक्ष्य पछ्याएको थियो । तर पाँच विकेट गुमाएर १ सय ९ मात्र बनाउन सक्यो । सो खेलमा गरेको गल्तिलाई सुधार गर्दै जित हात पार्ने लक्ष्यमा नेपाल छ ।

यदि यो खेल हारेमा नेपालको पहिलो पटक विश्वकपमा छनोट हुने सपना अधुरोनै रहनेछ । हिजो भएको खेलमा कुवेत माथि १ सय ६५ रनको फराकिलो जितले नेपालको मनोबल उच्च छ । कप्तान पूजा महतोले अविजीत १ सय ३० रनको ऐतिहासिक इनिङस सहित ५ विकेट लिएकी थिइन् । यूएई अपराजित छ । उसको पाँच खेलबाट दश अंक छ । नेपालले जित हात पारे दुवै टिमको समान दश अंक हुनेछ । त्यसपछि नेट रन रेटको आधारमा शीर्ष स्थानमा रहने टोली विश्वकपका लागि छनोट हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.