कोरोना महामारीका कारण रोकिएको सगरमाथा सम्वादको तयारीमा जुट्यो सरकार

फाल्गुन २७, २०८१ |विकास आचार्य
कोरोना महामारीका कारण रोकिएको सगरमाथा सम्वादको तयारीमा जुट्यो सरकार

काठमाडौै । पाँच वर्षअघि कोरोना महामारीका कारण रोकिएको सगरमाथा सम्वाद आगामी जेठको पहिलो साता आयोजना हुँदैछ ।

त्यसका लागि सरकारले तयारी समेत थालिसकेको छ । यसपटक सगरमाथा सम्वादमा जलवायु परिवर्तनको मुद्दामा सरकारले अन्तर्राष्ट्रिय स्तरको बहस गर्न लागेको हो ।

यो कार्यक्रममार्फत सरकारले हिमालको मुद्दालाई अन्तराष्ट्रिय समुदायसमक्ष स्थापित गर्ने प्रयास गर्नेछ । सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म तीन दिन सगरमाथा सम्वाद आयोजना गर्दैछ । सन् २०२५ अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष पनि हो ।

सोही अवसरमा सरकारले जलवायु परिवर्तनको बढ्दो असरबारे राष्ट्रिय तथा आन्तर्राष्ट्रिय स्तरका अतिथिलाई आमन्त्रण गरेर छलफल गर्न लागेको हो । यसका लागि सरकारले भारत र चीनका सरकार प्रमुखसहित विश्व बैंक, विश्व वन्यजन्तु कोषलगायत अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुख र प्रतिनिधिलाई निमन्त्रणा पठाइसकेको छ ।

कार्यक्रमलाई सफल पार्न प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशक समिति, परराष्ट्रमन्त्री आरजु राणा देउवाको अध्यक्षतामा व्यवस्थापन समिति र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिवको अध्यक्षतामा सचिवालय समिति गठन गरेर तयारी सुरु गरिएको छ ।

सरकारले सगरमाथा सम्वादको अबधारणा पत्र स्वीकृत गरिसकेको छ भने कार्यक्रमको प्रारम्भिक मस्यौदा पनि पारित भैसकेको वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन महाशाखाका प्रमुख डा.भहेश्वर ढकाल बताउँछन् ।

नीति तथा कार्यक्रममा समेत उल्लेख भएको सगरमाथा सम्वादलाई सरकारले प्राथामिकताको कार्यक्रममा राखेको छ । यसपटक सरकारले संयक्त राष्ट्रसंघको महासभा र विश्व जलवायु सम्मेलन कोप-२९ मा सरकार प्रमुखहरुले व्यक्त गरेका धारणामा टेकेर सम्वाद संचालन गर्नेछ ।

आगामी कोप ३० लगायतका अन्तर्राष्ट्रिय फोरमहरुमा कसरी हिमाल र हिउँका मुद्दामा साझा धारणा निर्माण पनि सम्वादको मुख्य एजेण्डा हुनेछ । सरकारले नेपालको कार्वन उत्सर्जनमा नगण्य भूमिका हुँदा पनि सबैभन्दा बढी असर व्यहोरिरहेको प्रमाण सगरमाथा सम्वादबाट प्रस्तुत गर्ने र जलवायु वित्तमा पहुँच बढाउने कार्यक्रम अघि सार्दैछ । दुई छिमेकी चीन र भारतसहित विश्वका धनी मुलुकबाट लिन सकिने लाभबारे पनि कार्यक्रममा छलफल गर्ने सरकारको तयारी छ ।

सरकारले ५ वर्षअघि नै सगरमाथा सम्वाद आयोजनाको तयारी गरेको भए पनि अन्तिम समयमा कोरोना महामारीका कार‌ण स्थगित गर्नुपरेको थियो । विज्ञहरुले भने सगरमाथा सम्वाद जलवायुजन्य असर रोक्ने अवसरका रुपमा लिएका छन् । उनीहरुले आन्तरिक चुनौती पन्छाउँदै संवादबाट अधिकतम लाभ लिनु पर्ने सुझाव दिएका छन् ।

सगरमाथा सम्वादमा ५ वटा मुख्य विषय क्षेत्र छनोट गरिएको छ । १२ बटा समानान्तर सत्र र ३ बटा विषयमा सार्वजनिक विचार विमर्श हुनेछन् । समापनका दिन सगरमाथा सम्वाद धोषणापत्र पनि सार्वजनिक हुनेछ । 


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement