आइसीसी विश्वकप लिग-२ शृङ्खला : नेपाल अमेरिकासँग ३ विकेटले पराजित

कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
आइसीसी विश्वकप लिग-२ शृङ्खला : नेपाल अमेरिकासँग ३ विकेटले पराजित

काठमाडौं । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटले पराजित भएको छ । नेपालले दिएको २८७ रनको लक्ष्य अमेरिकाले ४९.४ ओभरमा ७ विकेटको नोक्शानीमा पुरा गर्यो ।

अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आइतबार राती भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २८६ रन बनाएको थियो ।

'प्लेयर अफ द म्याच' बनेका शायन जहाँगीरले अमेरिकाका लागि सर्वाधिक १०४ रन बनाए । ९७ बल सामना गरेका उनले १२ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै मोनाकं पटेलले ६२ रन बनाए । त्यस्तै हर्मीत सिंहले ५७ रन बनाउँदा स्याड्ल भान श्यालवाएकले अविजित २९ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए । ६ ओभर बलिङ गरेका उनले २३ रन खर्चिएका थिए । त्यस्तै सोमपाल कामीले २ विकेट लिँदा १ विकेट ललित राजवंशीको नाममा रह्यो ।

नेपालका लागि कप्तान रोहित पौडलले शानदार प्रदर्शन गरे । उनले ७५ बलमा ९६ रन बनाए । सोही क्रममा उनले तीन छक्का र ८ चौका प्रहार गरे । नेपालका लागि अनिल साहले ६२ बलमा ५६ रन बनाए । उनले ५ चौका प्रहार गरे । यस्तै आशिफ शेखले ५३ बलमा ५२ रन बनाए । सो क्रममा उनले एक छक्का र ७ चौका प्रहार गरे ।

कुशल भुर्तेलले २८ बलमा ११ रन, आरिफ सेखले एक छक्का र दुई चौका प्रहार गर्दै ४५ बलमा ३७ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १७ बलमा १३ रन, गुल्सन झाले ३ बलमा एक रन, सोमपाल कामीले चार बलमा दुई रन, सन्दीप लामिछानेले ११ बलमा ५ रन र करण केसीले तीन बलमा तीन रन बनाएर आउट भए ।

नेपालका लागि ललित राजवंशीले एक बलमा एक रन बनाए । अमेरिकाका लागि नोसथुस केन्जिगेले सर्वाधिक चार विकेट लिए । उनले ५२ रन खर्चिए । सौरभ नेत्रावलकरले ६३ रन खर्चिदैँ दुई विकेट लिए । जसदीप सिंह, हरमित सिंह र स्याड्ली भान श्यालवाएकले समान एकएक विकेट लिए । जसदीपले ६४ रन, हरमितले ४६ र स्याड्ली भान श्यालवाएकले ५७ रन खर्चिएका हुन् । 

लिग २ मा ९ खेल खेल्दा केवल १ जित सहित ३ अंक जोडेको नेपाल तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । अमेरिका १० खेलमा १० अंक सहित दोस्रो स्थानमा छ । नेपालले दोस्रो खेलमा भोली स्कटल्यान्डसँग खेल्नेछ । 

लिग–२ मा नेपालसहित क्यानडा, अमेरिका, नेदरल्याण्डस्, स्कटल्याण्ड, नामिबिया, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) सम्मिलित छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.