नयाँ मिति नतोकिँदा राष्ट्रिय खेलकुद प्रतियोगिता थप अन्योलमा

आश्विन २७, २०८१ |कमल पन्त
नयाँ मिति नतोकिँदा राष्ट्रिय खेलकुद प्रतियोगिता थप अन्योलमा

सुर्खेत । आगामी मंसिर दुई गतेदेखि कर्णालीमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वनिर्धारित समयमा नहुने निश्चित भएपछि कर्णाली प्रदेशले तत्काल नयाँ मिति तोक्न संघीय सरकारसँग अनुरोध गरेको छ ।

समयमै प्रतियोगिता गर्न पनि नसक्ने र नयाँ मिति पनि नतोकिँदा राष्ट्रिय खेलकुद थप अन्योलमा परेको हो । प्रदेशलाई आन्तरिक व्यवस्थापनको तयारीमा जुट्ने बाटो नखुलेको र बन्द प्रशिक्षणमा राखिएका खेलाडीका विषयमा निर्णय लिन अप्ठेरो परेको भन्दै कर्णाली प्रदेशले तत्काल प्रतियोगिताको नयाँ मिति सार्वजनिक गर्न आग्रह गरेको हो ।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मंसिर २ गतेदेखि नहुने निश्चित भइसक्यो । पूर्वनिर्धारित समयमा प्रतियोगिता गर्न नसकेको आयोजक राष्ट्रिय खेलकुद परिषद राखेप र संघीय सरकारले प्रतियोगिताको नयाँ मिति तोकेका छैनन् । पूर्वनिर्धारित समयमा पनि प्रतियोगिता नहुने र नयाँ मिति पनि घोषणा नहुँदा प्रतियोगिता अन्यौलमा परेको छ । कर्णाली प्रदेश सरकारले नयाँ मिति तयभएपछि आन्तरिक तयारीमा जुट्न सहज हुने भन्दै तत्काल घोषण गर्न माग गरेको छ ।

पूर्वनिर्धारित समयमै नहुने भएपछि प्रतियोगिताको आन्तरिक तयारीमा जुटेका देशभरका खेलाडी र प्रशिक्षकहरु अन्यौलमा छन् । प्रतियोगिताको नयाँ मिति नतोकिँदा बन्द प्रशिक्षणमा राखिएका खेलाडीलाई अब घर फिर्ता पठाउने वा कहिलेसम्म प्रशिक्षण दिने भनेर निर्णय भएको छैन । यस्तै अन्यौल रहिरहँदा खेलकुद क्षेत्रमा ठूलो क्षति पुग्ने र खेलाडीहरु निराश बन्नुपर्ने अवस्था आएको भन्दै कर्णाली खेलकुद विकास परिषद्ले पनि तत्काल प्रतियोगिताको नयाँ मिति तोक्न आग्रह गरेको छ ।

पूर्वाधार तयार भइनसकेको भदै संघीय सरकारले मंसिर २ गतेदेखि प्रतियोगिता गर्न नसकिने जनाएको छ । प्रतियोगिताका ३६ मध्ये २४ खेल कर्णालीमै खेलाउन सकिने गरी पूर्वाधार निर्माण भइरहेका छन् । प्रतियोगिताको लागि मुख्य र अनिवार्य पूर्वाधार प्रदेश रंगशालाको काम अबको दुई महिनाभित्र पूर्णरुपमा सम्पन्न हुने निर्माण व्यवसायी दाबी छ ।

३० महिनाभित्र सक्नेगरी १ अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रुपैयाँमा निर्माण व्यवसायीले रंगशाला निर्माणको ठेक्का लिएको छ । कोरोना महामारी, भूकम्प, लामो समयसम्म मनसुन सक्रिय हुनु र निर्माण सामग्रीको अभावजस्ता कारणले तोकिएको मितिमा रंगशाला बनाउन नसकेपछि सरकारले पहिलो पटक ४ महिना म्याद थप गरेको थियो । थपिएको ४ महिनासम्म पनि रंगशाला निर्माण गर्न नसकेको ठेकेदार कम्पनीले अझै २ महिना समय माग गरेको छ । अबको दुई महिनाभित्र पूर्वाधार निर्माणको काम पूर्ण रुपमा सम्पन्न हुने र त्यसपछि प्रतियोगिताको आन्तरिक व्यस्थापनमा जुट्न सहज हुने भन्दै प्रदेश सरकारले तत्काल नयाँ मिति तोक्न संघीय सरकारलाई आग्रह गरेको हो ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।