राष्ट्रिय महिला फुटबल टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा

आश्विन २३, २०८१ |सुवास रोकाया
राष्ट्रिय महिला फुटबल टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले महिला साफ च्याम्पियनसिपको तयारीमा व्यस्त छ । तुलनात्मक रुपमा हालसम्मकै बलियो देखिएको वर्तमान टोलीले च्याम्पियन बन्ने लक्ष्य राखेको छ । साफ च्याम्पियनसिपको फाइनलमा चुक्ने टोलीको रुपमा परिचय बनाएको नेपाली टोली घरेलु मैदानमा पहिचान बदल्न दृढ देखिन्छ । तर हालै महिला लिगको प्रारम्भिक चरण खेलेका खेलाडीले फिफा विन्डोमा पनि अन्तर्राष्ट्रिय एक्सपोजर पाएनन् । सुरुवाती २ खेलमा सावित्रा भण्डारीसमेत उपलब्ध नहुने सम्भावना उच्च भएपछि प्रशिक्षक राजेन्द्र तामाङलाई थोरै भए पनि दबाब बढेको छ । 

हालसम्म साफ महिला च्यामियनसिपका ६ संस्करणमध्ये ५ पटक उपविजेता बनेको नेपाल सधै यस प्रतियोगिताको दाबेदार रहे पनि च्याम्पियन बन्न सकेको छैन । यसपटक भने घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य राखेको छ । हालै सम्पन्न महिला लिगको प्रारम्भिक चरणका खेल खेलेका खेलाडीहरु निरन्तर फुटबल गतिविधिमा ब्यस्त रहे पनि वाफ महिला च्याम्यिपनसिपको फाइनलमा जोर्डनसँग पेनाल्टीमा पराजित भएयता अन्तर्राष्ट्रिय फुटबल खेलेका छैनन् । महिला र पुरुष दुबै टिमले फिफा विन्डोमा समेत अन्तर्राष्ट्रिय खेल खेल्न पाएनन् । अन्तर्राष्ट्रिय एक्सपोजर बिना प्रतियोगितामा सहभागी हुँदा टिमलाई त्यसको असर पर्ने प्रशिक्षक र कप्तानको बुझाइ छ ।

हाल फ्रन्सको शीर्ष महिला लिगअन्तर्गत एना भान गुइनगाम्पमा आबद्ध स्टार फरवार्ड सावित्रा भण्डारीले सुरुवाती २ खेल गुमाउने सम्भावना उच्च भएपछि नेपालका लागी चुनौती थपिन सक्छ । साम्बाले भुटान र माल्दिभ्ससँगको समूह चरणका खेल गुमाउने सम्भावना बढेको हो । फिफाको अक्टोबर विन्डो कार्तिक ५ देखि सुरु भई १४ गतेसम्म चल्ने छ । तर च्याम्यिनसिप विन्डोभन्दा पहिला सुरु हुने भएपछि सावित्रालाई उनको टिमले रिलिज नगर्न सक्छ । उनको टिमले असोज २६ र कार्तिक ३ गते लिग खेल खेल्ने तालिका छ ।

वर्तमान महिला फुटबल टोली हालसम्मकै बलियो देखिन्छ । थुप्रै महिला खेलाडी विभिन्न देशको शीर्ष लिग खेलिरहँदा उनीहरुले ठूला क्लबमा सिकेको सिप राष्ट्रिय टिममा समेत उपयोग गर्ने छन् ।

महिला साफ च्याम्पियनसिप कात्तिक १ देखि दशरथ रंगशालामा सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्ने छन् । सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपालले पहिलो खेल कात्तिक २ गते भुटानसाग र ५ गते माल्दिभ्ससंग खेल्ने तालिका छ । समूहको अन्तिम खेलमा ८ गते नेपालले श्रीलंकासंग खेल्ने छ । प्रशिक्षक राजेन्द्र तामाङले हाल २७ खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् । केही युवा अनुहार टिममा रहँदा रेखा पौडेल र सावित्रा टिममा समेल नभएकाले अन्तिम टोली घोषणा हुन बाँकी छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement