साफ महिला च्याम्पियनसिपका लागि दशरथ रंगशाला तयार

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
साफ महिला च्याम्पियनसिपका लागि दशरथ रंगशाला तयार

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले साफ महिला च्याम्पियनसिपका लागि दशरथ रंगशाला तयार रहेको बताएको छ । सातौं संस्करणको साफ आगामी कात्तिक १ गतेदेखि सुरु हुँदैछ ।

एन्फाले सातदोबाटोस्थित मुख्यालयमा आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सवै तयारी पुरा भएको जानकारी दिएको हो । सबै खेल दशरथ रंगशालामा हुनेछन् । यसअघि रंगशालाको पिच खराब भएका कारण साफ अन्डर ट्वेन्टी च्याम्पियनसिप एन्फा कम्प्लेक्समा गरिएको थियो । तर महिलाको साफका लागि भने रंगशाला तयार बनाएको एन्फाको भनाइ छ ।

यहि रंगशालामा गत शुक्रबार र शनिबार एसिया रग्बी सेभेन्स आयोजना गरिएको थियो । प्रतियोगितामा घरेलु टोली नेपालसहित माल्दिभ्स, भारत, बंगलादेश, पाकिस्तान, श्रीलङ्का र भुटान सहभागी हुनेछन् । समुह ए मा भारत, बंगलादेश र पाकिस्तान छन् । नेपाल रहेको समुह बी मा भुटान, माल्दिभ्स र श्रीलङ्का छन् । नेपालले आफ्नो पहिलो खेल कात्तिक २ गते भुटानसँग खेल्नेछ । चीर प्रतिद्धन्दी भारत र पाकिस्तानबीच उद्घाटन खेल हुने छ । फाइनल कात्तिक १४ गते हुनेछ ।

एन्फाले अभ्यासका लागि एन्फा कम्प्लेक्स, नेपाली सेनाको भद्रकाली र लगनखेल तथा सेन्ट जेभियर्स स्कुलको मैदान उपलब्ध गराउने बताएको छ । राजेन्द्र तामाङको प्रशिक्षणमा नेपालले २७ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको छ । अहिलेसम्म नेपालले साफको उपाधि जितेको छैन । अघिल्लो संस्करण नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो । भारत पाँच पटकको विजेता हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement