क्यानडा एचपीसँगको ३ खेलको एकदिवसीय सिरिज नेपालले जित्यो

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
क्यानडा एचपीसँगको ३ खेलको एकदिवसीय सिरिज नेपालले जित्यो

काठमाडौं । घरेलु टोली क्यानडा एचपीसँगको ३ खेलको एक दिवसीय सिरिज नेपालले जितेको छ । तेस्रो तथा अन्तिम खेलमा एचपीलाई १० रनले पराजित गरेसँगै नेपालले सिरिज २-१ ले जितेको हो ।

पहिलो खेलमा ३ विकेटले पराजित नेपालले दोस्रो खेलमा २० रनको जित हासिल गरेको थियो । नेपालले सिरिज जितेपनि तिनवटै खेलमा ५० ओभर ब्याटिङ गर्न सकेन । तेस्रो तथा अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४८ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय सतासी रनको सामान्य योगफल तयार पारेको थियो ।

आरिफ शेख ४० रनमा आउट भए । कुशल भुर्तेलले ५२ रनको अर्धशतकीय योगदान दिए । यस अभ्यास  सिरिजमा कुनै पनि नेपाली ब्याटरले बनाएको यो नै एक मात्र अर्धशतक हो । अर्जुन साउदले १७ र कप्तान सोमपाल कामीले २७ रन बनाउनु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । घरेलु टोलीका लागी जाहिद शिरजादले ३ विकेट लिए ।

१ सय ८८ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको क्यानडा एचपीले ४४ ओभर ५ बलमा १ सय ७७ रन बनाउँदा सबै विकेट गुमायो । उसका अली नदिमले ८५ रनको उत्कृष्ट इनिङ खेले पनि अन्य ब्याटरको प्रदर्शन खास हसन सकेन । नेपालका लागी करण केसीले ५ र सागर ढकालले २ विकेट लिए । 

क्यानडा भ्रमण अन्तर्गत विश्वकप लिग २ सिरिजमा खराब प्रदर्शन गरेको नेपालले त्यसपछि खेलिएको टी-२० आई सिरिजमा औसत प्रदर्शन गरेको थियो । हाल नेपालले अक्टोबर २५ देखि अमेरिका मा सुरु हुने  घरेलु टोली र स्कटल्यान्ड सम्मिलित लिग २ को त्रिकोणात्मक सिरिजको तयारी गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement