कञ्चनपुरको बेलौरी र लालझाडीमा जंगली हात्तीको त्रास, एक युवक मृत भेटिए

आश्विन २२, २०८१ |हरिश्चन्द्र बाग
कञ्चनपुरको बेलौरी र लालझाडीमा जंगली हात्तीको त्रास, एक युवक मृत भेटिए

कञ्चनपुर । कञ्चनपुरको बेलौरी र लालझाडीमा जंगली हात्तीको त्रास बढेको छ । पछिल्लो केही दिनयता जंगली हात्तीको झुन्ड बेलौरी र लालझाडीका वन तथा बस्तीहरूमा घुमिरहेको छ । 

केही दिनअघि हात्तीको आक्रमणबाट लालझाडीका ५० वर्षीय रामदल रानाको मृत्यु भएको थियो भने आज थप एक युवकको मृत्यु भएको छ । यसका साथै जंगली हात्तीको झुन्डले पाक्नै लागेको धान, उखु तथा केराबारीमा क्षति गरिरहेको किसानहरूको दुखेसो छ । उक्त स्थानका बासिन्दाहरूमा त्रास बढेको छ भने हात्ती बस्तीमा पसेमा भगाउनका लागि रातभर जाग्राम समेत बस्नु परेको स्थानीयहरू बताउँछन् ।

सोही घटनाक्रममा एक युवकको शव फेला परेको छ । बेलौरी नगरपालिका- ५ स्थित पुष्पलाल स्मृति सामुदायिक वनमा बेलौरी नगरपालिका- ६ ढक्काचादर बस्ने २२ वर्षीय उमेश चौधरी मृत भेटिएको कञ्चनपुर प्रहरीले जनाएको छ । उक्त स्थान वरपर हात्तीको दिसा र रुखहरू समेत मडारेको जस्तो देखिएको छ । प्रारम्भिक अनुसन्धानबाट चौधरीको मृत्यु हात्तीको आक्रमणबाटै भएको हुन सक्ने इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिनुभयो । यद्यपि मृतकको शव परीक्षण हुन बाँकी छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement