स्पेनिस लिग ला लिगामा रियाल मड्रिडको अपराजित यात्रा कायमै

रियाल सोसिडाडमाथि दुई-शून्य गोलको जित
भाद्र ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्पेनिस लिग ला लिगामा रियाल मड्रिडको अपराजित यात्रा कायमै

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले रियाल सोसिडाडलाई पराजित गरेको छ । रियाल मड्रिडले सोसिडाडलाई २-० गोल अन्तरले हराएको हो ।

मड्रिडले दुवै गोल पेनाल्टीमार्फत् गर्यो । पहिलो हाफमा दुई पटक र दोस्रोमा एक पटक बल वुडवर्कमा लागेर फर्किनु रियाल सोसिडाडका लागि दुर्भाग्यपूर्ण रह्यो । २५ औं मिनेटमा लुका सुसिकले बक्सको छेउबाट प्रहार गरेको बलियो स्ट्राइक क्रसबारमा लागेर फर्किएपछि सोसिडाड गोल गर्नबाट चुक्यो । त्यसको १० मिनेटपछि फेरि वुडवर्कले मड्रिडलाई बचायो । शेराल्डो बेकरको स्ट्राइक बारमा लागेर बाहिरियो ।

५८ औं मिनेटमा अर्डा गुलरको बलियो प्रहारलाई म्यान्चेस्टर सिटीका पूर्व लेफ्ट ब्याक सर्जियो गोमेजले बक्सभित्र ह्यान्ड गरेपछि मड्रिडले पेनाल्टीको अवसर पार्यो । उक्त अवसरमा भिनिसियस जुनियलले कुनै गल्ती गरेनन् । ब्राजिलियन भिनिसियसका लागि जारी ला लिगामा यो दोस्रो गोल हो । ७५ औं मिनेटमा मड्रिडले पुन: पेनाल्टी पायो । जोन अरामबुरुले भिनिसियस जुनियरको खुट्टामा टेकेपछि प्राप्त स्पटकीकमा केयलिन एम्बापेले गोल गरे ।

यसै वर्ष पीएसजीबाट मड्रिड आएका फ्रेन्च अन्तर्राष्ट्रियका लागि यो ला लिगामा तेस्रो गोल हो । इङ्ल्यान्डका अन्तर्राष्ट्रिय खेलाडी जुड बेलिङ्घमले चोटका कारण यो खेल गुमाएका थिए ।

मड्रिड जारी सिजन पाँच लिग खेलसम्म अपराजित छ । उसले ३ जित र २ बराबरी सहित ११ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको मड्रिड लिग लिडर बार्सिलोना भन्दा एक अंक पछि छ । बार्सिलोनाले ४ खेल खेलेको छ । ५ खेलमा ४ अंक जोडेको सोसिडाड १६ औं स्थानमा छ ।

अन्य खेलमा भिल्लारियलले रियल मार्लोकालाई २-१, इस्पनयोलले डेपोर्टिभो एलाभेसलाई ३-२ र सेभियाले गेटाफेलाई १-० ले हरायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement