काठमाडौं । फिफा विश्वकप २०२६ को एशीया छनोटमा अस्ट्रेलियाले निराशाजनक प्रदर्शनलाई निरन्तरता दिएको छ । दक्षिण कोरिया र जापानले भने आ-आफ्नो खेलमा जीत हात पारे ।
अस्ट्रेलियालाई घरेलु टोली इन्डोनेसियाले गोल रहित बराबरीमा रोकेको हो । पहिलो खेलमा बहराइन सँग पराजित भएको अस्ट्रेलियाले जर्कार्तामा पुनरागमनको अपेक्षा गरेको थियो ।
३३औं मिनेटमा गोलको नजिक पनि पुग्यो । तर नेस्टोरी इरान कुन्डाको प्रहार पोस्टमा लाग्यो । बाँकी समयमा ग्राहम आर्नोल्डको टोलीले इन्डोनेसियन डिफेन्सलाइ तोड्न सकेन र गोल विहिन हुँदै अंक बाड्न बाध्य भयो । समुह सी मा रहेको अस्ट्रेलिया दुई खेलबाट एक अंक जोड्दै पाँचौ स्थानमा छ । शीर्ष स्थानको जापानको ६ अंक छ । जापानले बहराइन माथि ५-० गोलको फराकिलो जीत हात पार्यो ।
आयासी उएडाले ३७ औं मिनेटमा पेनाल्टी मार्फत गोलको खाता खोलेका थिए । ४७ औं मिनेटमा उनैले अग्रता दोब्बर बनाए । हिडेमासा मोरिताले ६१ र ६४ औं मिनेटमा गोल गरे । ८१ औं मिनेटमा कोकी ओगावाको गोल सँगै जापानले शत प्रतिशत नतिजा निकालेको हो । यसै समुहको साउदी अरेबियाले चीन माथि २-१ गोलको जीत हात पार्यो ।
दक्षिण कोरियाले ओमानलाई ३-१ गोलले पराजित गरेको छ । १०औं मिनेटमानै ह्वाङ हि चाङले घरेलु टोली विरुद्ध गोल गरेका थिए । इन्जुरी समयमा जङ सियोङ हियोनले आफ्नै पोस्टमा गोल गरेपछि पहिलो हाफमा १-१ को बराबरीमा सकियो । तर ८२औं मिनेटमा सन हिउङ मिनले कोरियालाइ खेलमा फर्काए । इन्जुरी समयमा जो मिन किउले गोल थपे । जोर्डनले प्यालेस्टाइनलाइ ३-१ गोलले हरायो ।