देश फर्किएपछि यस्तो देखियो पारा ओलम्पिक मेडलिस्ट पलेशा क्रेज

भाद्र १९, २०८१ |खेल ब्युरो
देश फर्किएपछि यस्तो देखियो पारा ओलम्पिक मेडलिस्ट पलेशा क्रेज

काठमाडौं । पेरिस पारालिम्पिक्समा नेपालका लागि ऐतिहासिक कांस्य पदक जितेर पलेशा गोर्वधन फर्कदा उनको भव्य स्वागत गरिएको छ । मुलुककै लागि अहिलेसम्मको सबैभन्दा ठूलो पदक जितेको खुसीयाली राष्ट्रपति, प्रधानमन्त्री हुँदै सिंगो मुलुकले मनाएको छ । 

पदक लिएर काठमाडौं फर्केकी पलेशा गोवर्धनले ओलम्पिक पदक जित्ने देशमा नेपाल पनि सामेल र आफूले देशका लागि गरेको बाचा पूरा भएको बताइन् । पदकको खुसीयालीमा झुमेका खेलाडी र खेलप्रेमीले समेत नयाँ आशा र उत्साहको सुरुवात भएको बताएका छन् । यो सफलताले खेलमा लगानी बढाउन राज्यमाथि पनि दबाब परेको छ ।

पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजा र ब्यान्डबाजासहित हजारौं मानिस उपस्थित भए । हातमा माला र खादा तथा ब्यानरसहितका खेलाडी र खेल पदाधिकारीहरु पनि सहभागी भए । त्यहाँको दृश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चहल-पहलनै भिन्नै देखाएको थियो । मानौं कुनै मेला, उत्सव र महाउत्सव जस्तो ।

पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाएकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन, उनका प्रशिक्षक कविराज नेगी लामा र पुरै टिमलाई स्वागत सिङ्गो देश तत्पर देखिन्थ्यो । स्वागत गर्न उपस्थित भिडबाटै कसैले भन्दै थियो । स्वागत होस् त यस्तो । खेलाडी होस त पलेशा जस्तो । 

घडीमा लगभग बिहानको ८ बजेको थियो । पलेशा र उनको टोली चढेको विमान अवतरण गर्‍यो । त्योसँगै इतिहासमै पहिलो पटक ओलम्पिक पदकले नेपाली भूमि टेक्यो । जुन क्षण नेपालका लागि ऐतिहासिक थियो । विमानस्थलको विशिष्ट कक्षबाट बाहिरिँदै गर्दा स्वागतका लागि उपस्थित भिडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीलाई धौ-धौ नै पर्‍यो ।

उनको स्वागतमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायत खेल पदाधिकारी, प्रशिक्षक, खेलाडी र खेलप्रेमीको बाक्लो उपस्थिति थियो । भीडकै बीच सुरक्षाकर्मीले पलेशालाई हाइलेक्समा राखे । त्यसपछि उनलाई नगर परिक्रमा गराइयो । राखेप प्राङ्गणमा औपचारिकरुपमा स्वागत गर्‍यो ।

पारालिम्पिक्सको तयारीका लागि एक महिना अघि पलेशाले आफू पदकसहित स्वदेश फर्कने बताएकी थिइन् । जुन वचन उनले पूरा गरिन् । विना कुनै पूर्वाधार र घरेलु प्रतियोगिता, छोटो समयको तयारी, तर दृढ आत्मविश्वास, संकल्प र परिश्रमले पलेशालाई नेपालका लागि कीर्तिमानी खेलाडी बनाएको हो । सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै लगानी बढाए नेपालले निकट भविष्यमा थप ओलम्पिक पदक जित्न सक्ने आत्मविश्वास बढाएको छ । 

पलेशाको सफलताले नेपाली खेलकुदसँग सरोकार राख्ने सबै निकायको जिम्मेवारी बढाएको छ । अब उचित लगानीसँगै खेलाडीलाई देशमै बाँच्न सक्ने अवस्था बनाउनु आवश्यक छ । कुनै एक सभाको सम्मान र पदक जितेपछि गरिने गरिने आर्थिक सहयोगले मात्र नेपाली खेलकुद क्षेत्रको समग्र विकास र विस्तार गर्न सक्दैन ।

त्यसका लागि राज्य र खेल क्षेत्रमा आवद्ध सबैले ध्यान दिनुपर्छ । पूर्वाधार निर्माणदेखि घरेलु प्रतियोगिता सबैमा ब्यापक लगानी गर्नुपर्छ । योसँगै तत्कालीन र दीर्घकालीन रणनीति र योजना बनाउनुको विकल्प छैन ।



Enter Kantipur TV HD
Advertisement