काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम तीन अभ्यास खेलका लागि श्रीलंका जाने भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज सूचना जारी गरेर नेपाली क्रिकेट टिमको तालिका सार्वजनिक गरेको हो ।
नेपाली टिमले श्रीलंका डेभलपमेन्ट टिमसँग तीन अभ्यास खेलसमेत खेल्नेछ । यसअघि नेपाली टिमले भारतको बैंगलोरस्थित राष्ट्रिय एकेडेमीमा दुई हप्ता अभ्यास गरेको थियो । ओमान र क्यानडासँग क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि तयारीमा रहेको नेपाली टिमले श्रीलंकामा ५० ओभरको अभ्यास खेल खेल्नेछ ।
पहिलो अभ्यास खेल भदौ १८ गते हुनेछ । त्यसैगरी दोस्रो खेल भदौ २० र तेस्रो २२ गते हुनेछ । यसबीचमा नेपालले चार दिन त्यहाँ अभ्यास गर्ने तय छ । क्यानले श्रीलंका डेभलपमेन्ट टिमसँग खेल्ने टोली घोषणासमेत गरेको छ । रोहित पौडेलको कप्तानीमा रहने टिममा आसिफ शेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुल्सन झा रहेका छन् ।
त्यसैगरी टिमका बाँकी खेलाडीमा दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, रिजन ढकाल, ललित राजवंशी, आकाश चन्द, सँगर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल र आर्जुन साउद छन् ।