खेलाडीलाई हौस्याउँदै गर्दा प्रधानमन्त्री ओलीको झुटो भाषण

भाद्र ५, २०८१ |विनयज्योति सापकोटा
खेलाडीलाई हौस्याउँदै गर्दा प्रधानमन्त्री ओलीको झुटो भाषण

काठमाडौं । काभा भलिबल नेसन्स लिगको उपविजेता बनेको नेपाली महिला भलिबल टिमलाई बधाइ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सदाझैं गफका शृंखला सुनाउनुभयो । उहाँले नेपाल फुटबलमा एक समय एसियाकै सबैभन्दा उत्कृष्ट टिम भएको बताउनुभयो, जुन सरासर गलत कुरा रहेको तथ्यांकले नै प्रमाणित गर्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत सोमबार महिला भलिबल खेलाडीलाई प्रधानमन्त्री निवास बालुवाटारमै बोलाएर दुई घण्टा समय दिनुभयो । नेपाली खेलकुदप्रति प्रधानमन्त्रीको यत्तिको सदासहायता हुनु राम्रो कुरा हो । अझ उहााले त भलिबल खेलाडी र पदाधिकारीलाई भलिबल कभर्डहल बनाउने आश्वासन पनि दिनुभयो ।

दुई हप्ताअघि काभा महिला भलिबल नेसन्स लिगको उपविजेता बनेको टोलीको उत्साह बढाउने क्रममा प्रधानमन्त्री ओलीले फुटबल टालेर खेलेको सन्दर्भ मात्र सुनाउनुभएन, नेपाली खेलको विश्व जगतले नै तारिफ गर्ने गरेको समेत बताउनुभयो । नेपाली फुटबलबारे प्रधानमन्त्रीको दाबी पनि सुन्न लायक थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली भन्नुहुन्छ - नेपालको फुटबल कुनैबेला एसियाकै उत्कृष्ट थियो । 

के प्रधानमन्त्री ओलीले भनेजस्तै नेपाल कुनै समय एसियाकै सबैभन्दा उत्कृष्ट टिम थियो त ? थियो भने कुन समयमा थियो ? नेपालले अहिलेसम्म कस्ता-कस्ता ठूला प्रतियोगिता जितेको छ ? के नेपाल कुनै समय अहिलेको जापान, इरान, दक्षिण कोरिया, अस्ट्रेलिया र कतारजस्ता देशभन्दा पनि अगाडि थियो त ? आउनुहोस्, यसबारेमा केही जानकारी लिऔं ।

फिफामा नेपालको सबैभन्दा उच्च वरीयतामा १ सय २४औं स्थान हो । यो स्थानमा नेपाल ३१ वर्षअघि अर्थात् सन् १९९३ को डिसेम्बरमा पुगेको थियो । यो भनेको नेपाल १ सय २३ देशभन्दा पछि थियो भन्ने हो । त्यो समयमा पनि नेपाल एसियन कपमा पुग्न सकेन । एसियन कप भनेको एसिया महादेशको एलिट फुटबल प्रतियोगिता हो । अझ भनौं महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ।

सन् १९९३ को अन्त्यतिर नै जापान विश्व वरीयताको ४३औं स्थानमा थियो, नेपालभन्दा ८१ स्थान माथि । त्यही समयमा इरान ५९औं स्थानमा थियो अर्थात् नेपालभन्दा ६५ स्थान माथि । त्यो समयमा दक्षिण कोरिया विश्व वरीयताको ४१औं स्थानमा थियो। अर्थात् नेपालभन्दा ८३ स्थान अगाडि । 

यी देशबाहेक पनि युएई, बहराइन, मलेसिया, चीन सधैं नेपालभन्दा अगाडि रहने गरेका छन् । यसको अर्थ के हो भने नेपाल आफ्नो लागि सबैभन्दा उत्कृष्ट रहेको समयमा पनि एसियाका धेरै देशहरुभन्दा पछि थियो । 

फिफाको वरीयता निर्धारण गर्ने अंक फुटबल टिमको जित र हारको आधारमा गणना गरिन्छ । त्यसमा पनि विश्वकप तथा युरो कप, कोपा अमेरिका र एसियन कपजस्ता महादेशिय प्रतियोगितामा निकालेको जितको अंक धेरै हुन्छ भने मैत्रीपूर्ण खेलमा दर्ता गरेको जितको अंक थोरै रहने गर्दछ । फिफाको वरीयता निर्धारण गर्ने निर्देशिकामा स्पष्टसँग भनिएको छ, जति अंक जित्ने टिमले कमाउँछ पराजित हुने टिमले त्यति नै अंक गुमाउँछ । यसैका आधारमा वरीयता तलमाथि पनि हुन्छ । यसरी हेर्ने हो भने वरीयताका आधारमा नेपाल कहिल्यै एसियाको टप भएन, अर्थात् फुटबलमा नेपाल इतिहासमै एसियाको उत्कृष्ट कहिल्यै थिएन ।

फेरि, वरीयतामा तलै परे पनि उपाधि जित्ने सम्भावना भने हुन्छ है । नेपालले अहिलेसम्म सिनियर टिमका रुपमा कहिल्यै कहीँ नजितेको भने होइन । महत्वपूर्ण उपाधि जितेको छ । नेपालले दक्षिण एसियाली खेलकुदको फुटबलमा सिनियर टिम र अन्डर २३ टिमले समान दुई-दुई पटक स्वर्ण जितेको छ । तर, दक्षिण एसियाली फुटबल फेडेरेसनले आयोजना गर्ने पुरुष साफ च्याम्पियनसिप एकपटक पनि जित्न सकेको छैन । 

नेपालले सागमा भारतलाई हराएको भए पनि साफ साफ च्याम्पियनसिपमा आजसम्म भारतलाई जित्न सकेको छैन । नेपालले जितेको अहिलेसम्मकै ठूलो उपाधि एएफसी सोलिडारिटी कप २०१६ लाई पनि लिइन्छ । महादेशीय प्रतियोगिता अर्थात् एसियन कपमा पुग्न नसकेका साना टिमहरुको लागि एसियाली फुटबल महासंघले आयोजना गरेको प्रतियोगिता थियो, यो । यसबाहेक नेपालले जितेको बंगबन्धु गोल्डकप मात्र हो । 

तपाईंलाई थाहै होला एसियाको पहिलो हुन एसियन कप जित्नुपर्छ, जहाँ नेपालले कहिल्यै स्थान बनाएकै छैन । त्यसैले प्रमाणित हुन्छ नेपाल अहिलेसम्म एसियाको पहिलो त भएको छैन नै त्यसको छेउछाउसम्म पनि पुग्ने सकेको छैन । फेरि प्रधानमन्त्रीले भनेको कुरातर्फ आऔं, प्रधानमन्त्रीले भनेको कुरा सामान्य गफ मात्र होइन, प्रधानमन्त्रीको भनाई फगत् भनाइ मात्रै पनि होइन । उहाँका भनाइ नागरिक समाजदेखि अन्तर्राष्ट्रिय मञ्चले पनि हेरिहेकै हुन्छन् । त्यसैले आफूलाई थाहै नभएको विषयमा बोलेको भन्दा नबोलेको नै राम्रो हुन्छ नि होइन र ? 

तर, हाम्रा सम्माननीय प्रधानमन्त्रीलाई थाहा हुनुपर्छ, फुटबलमा एसियाको पहिलो हुनका लागि कति धेरै स्रोत-साधन, व्यवस्थित योजना, मिहिनेत र लगातार प्रतियोगिता चाहिन्छ भनेर । अहिलेसम्म थाहा छैन भने उहाँका सहयोगीहरुले थाहा दिए राम्रै हुन्छ । जापान, इरान, साउदी अरब त्यसै अगाडि रहेका छैनन् । उनीहरुले वर्षौंदेखि बनाएको योजनालाई व्यवस्थित रुपमा लागू गरिरहेका छन् । 

त्यसैले प्रधानमन्त्रीको त्यो भनाइ ती देशहरुले गरिरहेको अथाह लगानी र संघर्षको उपहास पनि हो । प्रधानमन्त्रीले खेलाडीलाई उत्साहित बनाउन कुराका लागि कुरा मात्रै गर्नुभन्दा देशको खेलकुदलाई तटस्थ ढंगले हेर्ने हो भने पक्कै यसको वास्तविकता थाहा होला । भएको एउटा दशरथ रंगशालालाई त ठीक तरिकाले व्यवस्थापन गर्न नसकेको नेपाल सरकारको प्रमुखलाई देशको खेलकुदको बारेमा ज्ञान नहुनुलाई अन्यथा पनि भन्न नसकिएला । सायद यो नेपाली खेलकुदप्रेमीकै दुर्भाग्य हुनुपर्छ ।

यति हुँदाहुँदै पनि सकारात्मक कुरा के हो भने प्रधानमन्त्री ओली खेलकुद मनपराउनुहुन्छ । आशा गरौं, त्यसको प्रभाव खेलकुद क्षेत्रमा हुने लगानी र योजना निर्माणमा पर्ला नै । 


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।