थाइल्यान्डमाथि १० विकेटको सानदार जित हात पार्दै श्रीलंका एसीसी महिला एसिया कपको सेमिफाइनलमा

श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
 थाइल्यान्डमाथि १० विकेटको सानदार जित हात पार्दै श्रीलंका एसीसी महिला एसिया कपको सेमिफाइनलमा

काठमाडौं । घरेलु टोली श्रीलंका एसिसी महिला टी-२० एसिया कप अन्तर्गत समूह 'बी' मा शतप्रतिश जितसँगै सेमिफाइनलमा प्रवेश गरेको छ ।

गए राति सम्पन्न समूह चरणको अन्तिम खेलमा श्रीलंका समूह विजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको हो । पराजित थाइल्यान्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । यो समूहबाट बंगलादेश उपविजेताका रूपमा अगाडि बढ्यो ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९३ रन बनाएको थियो । उसका नन्नपत कोन्चरोएनकाले ४७, कप्तान थिपच्चा पुत्थावाङले १३ र अपिसरा सुवान्चोराथीले १२ रन बनाए ।

श्रीलंकाका काविशा दिलहरीले दुई विकेट हात पारे ।

थाइल्यान्डले प्रस्तुत गरेको ९४ रनको लक्ष्य श्रीलंकाले ११ ओभर ३ बलमा विना कुनै विकेटको क्षतीमा पूरा गर्‍यो । श्रीलंकाका कप्तान चमारी अथापथु ४९ र भिष्मी गुनारत्ने ३९ रनमा अविजित रहे ।

यससँगै महिला एसिया कप २०२४ को सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो सेमिफाइनलमा भारतले बंगलादेश तथा दोस्रो सेमिफाइनलमा श्रीलंकाले पाकिस्तानको सामना गर्नेछन् । दुबै सेमिफाइनल खेल भोलि हुनेछ भने फाइनल खेल आइतबार खेलिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement