पेरिस ओलम्पिक अन्तर्गत पहिलो खेलमा अर्जेन्टिना मोरोक्कोसँग २-१ गोलअन्तरले पराजित

इराकले युक्रेनलाई हराउँदा फ्रान्स, जापान, न्युजिल्यान्ड र स्पेनको पनि विजयी सुरुवात
श्रावण १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
पेरिस ओलम्पिक अन्तर्गत पहिलो खेलमा अर्जेन्टिना मोरोक्कोसँग २-१ गोलअन्तरले पराजित

काठमाडौं । दुईपटकको स्वर्ण पदक विजेता तथा हालै सम्पन्न कोपा अमेरिका च्यापियन अर्जेन्टिना पेरिस ओलम्पिक २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा पराजित भएको छ ।

ओलम्पिकको पुरुष फुटबलमा अर्जेन्टिना मोरोक्को सँग २-१ गोल अन्तरले पराजित भएको हो । जेफरोय गुइचार्ड रंगशालामा दर्शक मैदान प्रवेश गरेपछि खेलमा केही अवरोध भएको थियो । मोरोक्काको जितमा दुवै गोल सुफियान रहिमीले गरे । पहिलो हाफको इन्जुरी समयमा रिहिमीको गोलमार्फत मोरोक्कोले अग्रता लिएको थियो । ४९ औं मिनेटमा उनैले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

जियुलियानो सिमोनले ६८औं मिनेटमा गोल गर्दै खेललाई २-१ को स्थितीमा फर्काए । इन्जुरी समयमा क्रिस्चियन मदिनाको प्रहारले जाली चुमे पनि भिएआर परिक्षण पछि उनको प्रयासले गोलको मान्यता पाउन सकेन । यससँगै हालै सम्पन्न कोपा अमेरिका विजेता टिममा रहेका जुलियन अल्भारेज, निकोलस ओटामेन्डी र जेरोनिमो रुल्ली जस्ता खेलाडी भए पनि २००४ र २००८ को स्वर्ण पदक विजेता अर्जेन्टिना पराजित हुन पुग्यो ।

अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा शनिबार इराकसँग खेल्ने छ । गएराति सम्पन्न खेलमा इराकले युक्रेनलाई २-१ ले पराजित गरेको थियो । यस्तै फ्रान्स, जापान, न्युजिल्यान्ड र स्पेनले पनि विजयी सुरुवात गरेका छन् ।

ओलम्पिको पुरुष फुटबलमा यु-२३ टोलीको सहभागिता रहने गर्छ । ओलम्पिकको औपचारिक उद्घाटन भोलि हुने भएपनि फुटबलको प्रतिस्पर्धा हिजोबाट सुरु भएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement