डेढ महिनादेखि रिक्त राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्तिमा एन्फाको ढिलाइ

भिन्सेन्चोसँगको सम्झौता नवीकरणबारे अन्योल
खेल गतिविधि ठप्प
श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
डेढ महिनादेखि रिक्त राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्तिमा एन्फाको ढिलाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ–एन्फासँग कुनै कार्यक्रम नै नभएपछि राष्ट्रिय पुरुष फुटबल टिमका खेलाडी अहिले फुर्सदिला छन् । मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेससँगको सम्झौता जेठ अन्तिममै सकिए पनि एन्फाले नयाँ प्रशिक्षक नियुक्तिमा पनि ढिलाइ गरिरहेको छ ।

भिन्चेन्सो २०७९ फागुन १७ गते एक वर्षका लागि नेपाली फुटबल टीमको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । दोस्रो पटक ३ महिना १५ दिनका लागि कार्यकाल थप भए पनि उनीसँगको सम्झौता जेठ अन्तिममा समाप्त भइसकेको छ ।

तर नयाँ प्रशिक्षक नियुक्त गर्ने वा भिन्चेन्सोसँग सम्झौता नवीकरण गर्ने भन्नेबारे एन्फाले निर्णय लिन सकेको छैन । यस विषयमा एन्फाको कार्यसमिति बैठकले निर्णय गर्ने भए पनि बैठक कहिले बस्ने टुङ्गो लागेको छैन ।

एन्फाले भिन्चेन्सोको कार्यकाललाई सन्तोषजनक भने पनि उनीसँगको सम्झौता थप नगर्ने संकेत देखाएको छ । प्रशिक्षक नियुक्तिमा पनि एन्फा निकै सुस्त देखिएको छ । जर्मन प्रशिक्षक भित्राउने तयारी गरिरहेको बुझिए पनि एन्फाले यसबारे विस्तृतमा बताउन चाहेन । 

फिफा विश्वकप र एसियन कपको छनोटको दोस्रो चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा यमनविरुद्ध २-२ गोलको बराबरी खेलेपछि नेपाली राष्ट्रिय फुटबल टिम खेलविहीन छ । गत जेठ अन्तिम साता यता खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुनै पनि मञ्चमा फुटबल खेलेका छैनन् । 

विश्वकप छनोट पछि भिन्चेन्सो आफ्नो देश इटली फर्किएका छन् भने खेलाडी विदामा छन् । आगामी फिफा विन्डोमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलाउने तयारी गरेको एन्फाको दाबी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement