एसीसी एसिया कप : मलेसियामाथि बंगलादेशको १ सय १४ रनको जित

श्रावण ९, २०८१ |कान्तिपुर टीभी संवाददाता
एसीसी एसिया कप : मलेसियामाथि बंगलादेशको १ सय १४ रनको जित

काठमाडौं । एसीसी एसिया कपमा बंगलादेशले मलेसियामाथि १ सय १४ रनको फराकिलो जित हात पारेको छ । श्रीलङकाको रांगिरी दाम्बुला इन्टरनसनल स्टेडियममा टस जितेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा २ विकेट गुमाएर १ सय ९१ रनको विशाल योगफल बनाएको थियो ।

ओपनर दिलारा अक्तर ३३ रनमा इज्जाती स्माइलको बलमा आउट भएकी थिइन् । दोस्रो विकेटका लागि मुसिंदा खातुन र कप्तान निगार सुल्तानाले ८९ रनको साझेदारी गरेपछि बंगलादेश ठूलो योगफल बनाउन सफल भएको हो । मुर्सिदाले ५० बलमा ८० रन बनाइन् । उनले दश चौका र एक छक्का प्रहार गरिन् । निगार ६२ रनमा अविजित रहिन् ।

जवाफमा मलेसियाले २० ओभरमा ८ विकेटको क्षतिमा ७७ रनमात्र बनाउन सक्यो । एल्सा हन्टरले २० र इज्जातीले १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । नाहिदा अक्तरले दुइ विकेट हात पारिन् । सेमीफाइनल प्रवेशको सम्भावना बलियो बनाउन बंगलादेशलाई समूहको यो अन्तिम खेल जित्नै पर्ने दबाब थियो ।

बंगलादेश तीन खेलबाट चार अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अहिले घरेलु टोली र थाइल्यान्डबीचको खेल जारी छ । यो खेलपछि समूह बीबाट सेमिफाइनल पुग्ने टिमको टुंगो लाग्नेछ । समूह एबाट भारत र पाकिस्तानले अन्तिम चारमा स्थान बनाइसकेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement