काठमाडौं । राष्ट्रिय गौरवको आयोजनामा समेटिएको चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणले लामो प्रतीक्षापछि निरन्तरता पाउने भएको छ । पहिलेको डिजाइन परिवर्तन गरी दर्शक क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने रंगशाला निर्माणको काम फेरि सुरु गर्न लागिएको हो ।
तीन वर्षदेखि अलपत्र चितवनको भरतपुर महानगरपालिका-१५ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण नयाँ ढंगले अघि बढ्न लागेको छ । भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक बीबीआर जेभीबीच ३० महिनाभित्र रगंशाला निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको छ । निर्माण कम्पनी र महानगरले संयुक्तरुपमा स्थलगत निरीक्षण गरेपछि साउन पहिलो सातादेखि काम सुरु गर्ने तयारी छ ।
धुर्मुस-सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रंगशाला निर्माण सम्झौता हुादा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो । अब भने पहिलो चरणमा १५ हजार क्षमताको बन्नेछ । फाउन्डेसनले यसअघि नै दुबो रोपेर मैदान बनाएको थियो । अहिले भने नयाँ प्रविधिको प्रयोग गरी ५ वटा पिचसहितको मैदान बनाउन लागिएको छ । नयाँ प्रविधिले मैदानमा धेरै समय पानी जम्न नपाउने र समयमै खेल खेलाउन मिल्ने हुनेछ ।
पहिलो चरणमा रंगशालामा मैदान, ड्रेनऐज, २ वटा समान ३/३ तलाको टावर बनाइनेछ । एउटामा भीआइपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरू हुनेछन् । दुवैतर्फ १५ हजार क्षमताको प्यारापेट बनाइनेछ । प्यारापेटको क्षमता पछि बढाउन सकिनेछ ।
यति काम गर्न हिमालयन कालिञ्चोक बीबीआर जेभी कम्पनीले भ्याट र पीएससहित ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाामा सम्झौता गरेको छ । निर्माण कामहरु सुस्त गतिमा हुने हाम्रो देशमा यो परियोजना पनि कतै त्यसकै शिकार बन्ने त होइन भन्ने आशंका पनि छ । तर महानगरले कुनै पनि हालतमा ०८३ साल पुस २२ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी अघि बढ्न आग्रह गरेको छ ।
रंगशाला निर्माणका लागि सम्झौता नै भइसकेपछि स्थानीयमा उत्साह छाएको छ । समयमै काम सकियोस् भन्ने चाहना पनि भएको उनीहरु बताउछन् । रंगशालामा हालसम्म धुर्मुस सुन्तली फान्डेसनले करिब ५ हजार दर्शक क्षमताको प्यारापेट बनाइसकेको छ । टावर १ को फुटिङको डन्डी बिछ्याउने काम सकिएको छ । टावर २ को खाल्डो खनेर छोडिएको छ । ड्रेनेजको काम सकिएर ढक्कन बिछ्याउने काम मात्रै बाँकी छ ।