लुम्बिनी प्रदेशका महिला र पुरुष दुवै टिम अन्डर नाइन्टिन भलिबलको फाइनलमा

असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी प्रदेशका महिला र पुरुष दुवै टिम अन्डर नाइन्टिन भलिबलको फाइनलमा

काठमाडौं । सहाना प्रधान स्मृति अन्डर नाइन्टिन भलिबल प्रतियोगितामा महिलातर्फ लुम्बिनी र बागमती प्रदेश फाइनलमा पुगेका छन् । यसैगरी पुरुषतर्फ गण्डकी र लुम्बिनी प्रदेश फाइनलमा आमनेसामने हुनेछन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनलमा गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा गण्डकी प्रदेशले राम्रो चुनौती दिए पनि लुम्बिनीले २७-२५ ले जित्यो ।

त्यसैगरी, बाँकी सेट उसले २५-१२ र २५-२० ले जितेको थियो । आजै भएको अर्को सेमिफाइनलमा बागमती प्रदेशले कोशी प्रदेशविरुद्ध सहज र फराकिलो जित दर्ता गर्यो । पहिलो सेट २५-१८ ले जितेको बागमतीले बाँकी सेटमा २५-६ र २५-९ को जितसाथ फाइनलमा सानदार इन्ट्री गरेको छ ।

आजै भएको पुरुषतर्फको खेलमा लुम्बिनीले बागमतीलाई ३-१ को सेटमा हराउँदै फाइनलमा स्थान बनाएको छ । पहिलो सेटमा लुम्बिनीले २५-१७ ले जितेको भए पनि दोस्रो सेट २९-३१ ले गुमाउन पुगेको थियो । तर तेस्रो सेटमा कमब्याक गर्दै उसले २५-१९ र २५-२० को जित दर्ता गर्यो ।

आजै भएको अर्को सेमिफाइनलमा सुदूरपश्चिमलाई चार सेटमा हराउँदै गण्डकीले फाइनलमा लुम्बिनीसँगको भेट पक्का गर्यो । उसले पहिलो सेट २५-१६ ले जितेको थियो । दोस्रो सेटमा २०-२५ ले पराजित भए पनि बाँकी सेटमा २५-११ र २८-२६ को जितसाथ फाइनलमा प्रवेश गरेको हो ।

भोलि (शनिबार) दिउँसो १ बजे महिलातर्फको र ३ बजे पुरुषतर्फको फाइनल खेल हुनेछ । उपाधि जित्ने टिमले तीन लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.