कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा पुग्ने पानामाको सम्भावना जीवित

असार १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोपा अमेरिका २०२४ को क्वाटरफाइनलमा पुग्ने पानामाको सम्भावना जीवित

काठमाडौं । आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै पानामाले कोपा अमेरिका २०२४ को क्वाटरफाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ ।

पानामासँग भएको २-१ गोल अन्तरको हारले अमेरिकाका लागि अघिल्लो चरणको यात्रा थप कठिन बनेको छ । उरुग्वेसँगको सुरुवाती हारपछि आफ्नो अभियानलाई जित सहित पुनः बलियो बनाउन पनामा सफल भयो ।

एटलान्टामा भएको समूह सीको रोमाञ्चक खेलमा दुवै पक्ष १०-१० जना खेलाडीमा सीमित भएका थिए । खेलको १८ औँ मिनेटमा अमेरिकी विङ्गर टिमोथी वेहले पानामाका डिफेन्डर रोडरिक मिलरलाई खराब फाउल गरेपछि भीएआरको मद्दतमा उनलाई रातो कार्ड देखाइयो । त्यसपछि अमेरिका खेलका अघिकांस समय १० खेलाडीमा सीमित हुँदै खेल्न बाध्य भयो । २२ औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । तर त्यसको ४ मिनेट पछि सेजर ब्ल्याकम्यानको स्ट्राइकबाट पानामाले खेल बराबरीमा फर्कायो ।

निर्धारित समयमा सात मिनेट बाँकी रहँदा जोसे फाजार्डोले गोल गर्दै पानामालाई २-१ ले अगाडि बढाए । ८८ औँ मिनेटमा एडलबर्टो कारास-क्विलाले पनि रातोकार्ड बेहोरेपछि अन्तिम केही मिनेट पानामा १० खेलाडीमा सीमित भयो । तर त्यसले खेलको नतिजामा कुनै प्रभाव भने पार्न सकेन । 

यससँगै समूह सीमा रहेको पानामाले २ खेलमा १ जित सहित ३ अंक जोडेको छ । ऊ तालिकाको तेस्रो स्थानमा छ । समान अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ । तर अमेरिकाले क्वार्टरफाइनलमा पुग्न मंगलबार दक्षिण अमेरिकी हेवीवेट उरुग्वेलाई हराउनुपर्ने हुनु पर्ने छ । सोही दिन पानामाले बोलिभियाको सामना गर्ने छ । 

कोपा अमेरिकामा अहिले उरुग्वे र बोलिभियाबिचको खेल जारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.