महिलातर्फ लुम्बिनी र कोशी, पुरुषतर्फ सुदूरपश्चिम र बागमती सेमिफाइनलमा

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
महिलातर्फ लुम्बिनी र कोशी, पुरुषतर्फ सुदूरपश्चिम र बागमती सेमिफाइनलमा

काठमाडौं । सहाना प्रधान अन्डर नाइन्टीन महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत समूह एको महिलातर्फ लुम्बिनी र कोशी प्रदेश सेमिफाइनल प्रवेश गरेका छन् । पुरुषतर्फ समूह एबाट सुदूरपश्चिम र बागमतीले अन्तिम चारमा स्थान बनाएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कवर्डहलमा जारी प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा महिलातर्फ कर्णाली प्रदेशले मधेश प्रदेशलाई हरायो । कर्णालीले पहिलो सेट २४-२६ ले गुमाए पनि दोस्रो सेटमा २५-९ ले मधेशलाई हरायो ।

तेस्रो सेट २५-१० ले जितेको कर्णालीले चौथो सेटमा पनि २५-१९ ले जित हात पार्‍यो । जीतका बाबजुद कर्णाली सेमिफाइनल पुग्नबाट अंकका आधारमा वञ्चित भयो । आजै भएको अर्को खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई सोझो सेटमा हराएको छ ।

कोशी प्रदेशलाई हराउने क्रममा लुम्बिनीले २५-१२, २५-१५ र २५-२१ को सेटमा हात पारेको थियो । जितपछि लुम्बिनी समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ। आजै पुरुषतर्फ लिग चरणको अन्तिम खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशलाई सोझो सेटमा हराएको छ ।

कर्णालीले मधेशलाई २५-१८, २५-२१ र २५-२० ले हराए पनि सेमिफाइनल पुग्न भने सकेन । समूह ए कै लिग चरणको अर्को खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई सोझो सेटमा हराएर समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमले बागमतीलाई २५-२१, २५-१३ र २५-१४ ले हराएको थियो । हारका बाबजुद बागमतीले अन्तिम चारमा स्थान बनाइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.