काठमाडौं । कान्तिपुर हाफ म्याराथन २०८१ मा सहभागी हुने खेलाडीहरूले भोलिसम्म नाम दर्ता गर्न सक्ने भएका छन् ।
४ विधा समावेश १२ औँ संस्करणको प्रतियोगितामा २१ दशमलव एक किलोमिटरको हाफ म्याराथन सहित कर्पोरेट रन ५ किमि, कलेज रन ७ किमी र ह्विलचियर रेस गरी ४ विधा सामेल छन् ।
कान्तिपुर पब्लिकेसनले आयोजना गर्दै आएको प्रतियोगिताअन्तर्गत मुख्य विधा हाफ म्याराथनको पुरुष र महिला विजेताले जनही एक लाख पाउने छन् । त्यस्तै दोस्रोदेखि छैटौँ हुनेले क्रमशः ५०, ३०, २०, १० र ५ हजार पाउने छन् ।
हि्वलचेयर रेसतर्फ विजेताले ३० हजार तथा दोस्रो र तेस्रो हुनेले क्रमशः २० र १० हजार पाउने छन् । कर्पोरेट रन र कलेज रनको महिला र पुरुषतर्फ शीर्ष ३ मा रहनेले विभिन्न पुरस्कार र गिफ्ट ह्याम्पर पाउने छन् ।
कान्तिपुरको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कबाट सुरु हुने कान्तिपुर हाफ म्याराथन’ थापाथली, माइतीघर मण्डला, बानेश्वर, तीनकुने, कोटेश्वर, जडिबुटी, लोकन्थली गठ्ठाघर, थिमी, सल्लाघारी चोकबाट फन्को लगाएर, कोटेश्वर, तीनकुने, बानेश्वर, मण्डला माइतीघर हुँदै सेन्ट्रल बिजनेस पार्क अगाडि आएर दौड टुंगिने छ ।
सबै विधामा गरी यस पटक झन्डै ३ हजार धावक सहभागी हुने अपेक्षा छ । खेलाडी दर्ता कान्तिपुरको केन्द्रीय कार्यालय थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा आएर वा ईसेवाबाट गर्न सकिनेछ ।