कान्तिपुरकर्मी सविना कार्की खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित

चैत्र २१, २०८० |कान्तिपुर टीभी संवाददाता
कान्तिपुरकर्मी सविना कार्की खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्- राखेपको ६०औँ वार्षिक उत्सवको अवसरमा कान्तिपुर टेलिभिजनकी खेलकुद ब्युरो प्रमुख सविना कार्की खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित भएकी छन् । यही अवार्ड पुरुषतर्फ नेपाल टेलिभिजनका सम्पादक दुर्गा नाथ सुवेदीले प्राप्त गरेका छन् ।

काठमाडौंमा आयोजित समारोहमा ६ विधाका १८ जना खेलकुद पदाधिकारी, राखेप कर्मचारी, प्रशिक्षक, खेलाडी र खेलकुद पत्रकारलाई पनि राखेपले नगदसहित सम्मान गरेको छ ।

सिनियर महिला खेलाडी तर्फ बक्सिङका सुश्मा तामाङ र पुरुष खेलाडी तर्फ एथलेटिक्सका दीपक अधिकारी सम्मानित भए । दुवैलाई जनही एक लाख नगदसहित प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान गरे । यस्तै जुनियर पुरुषतर्फ क्रिकेटका अर्जुन कुमाल र महिलातर्फ पौडीकी डुवाना लामा सम्मानित भए । दुवैले जनही ५० हजार नगद सहित ट्रफी प्राप्त गरे । 

त्यसैगरी, कर्मचारीतर्फ वक्सिङ प्रशिक्षक राज श्रेष्ठ र इन्जिनियर सविना महर्जन उत्कृष्ट कर्मचारीको पुरस्कार प्राप्त गरे । अधिकृततर्फ भलिबल प्रशिक्षक उमादेवी गुरुङ र नायव वरिष्ठ अधिकृत शारदा उत्कृष्ट घोषित भए । उत्कृष्ट परिषद् सेवा पुरस्कार बाट क्रिकेट प्रशिक्षक मञ्जुल आलम खान, प्रशासकीय अधिकृत सुनिल कुमार, कुस्ती प्रशिक्षक मोम्ताज अली र प्रशासकीय अधिकृत भोजानन्द राई सम्मानित भए ।

कार्यक्रममा यसवर्षको उत्कृष्ट संघ नेपाल भलिबल संघ घोषित भयो । राष्ट्रिय वाणिज्य बैङ्क उत्कृष्ट सहयोगी संस्था घोषित भयो। कार्यक्रममा प्रधानमन्त्री दाहाललले आगामि आर्थिक वर्षमा खेलकुदको बजेट बढाउने आश्वासन दिएका छन् । उनले राष्ट्रिय गौरवको आयोजनामा परेका खेलपूर्वाधार र कर्णाली प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितालाई प्राथमिकता राख्दै बजेट बनाउने बताएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.