एसएमएस फ्रेन्डसिप कप : आज नेपालले बरोडासँग प्रतिस्पर्धा गर्दै

चैत्र २०, २०८० |कान्तिपुर टीभी संवाददाता
एसएमएस फ्रेन्डसिप कप : आज नेपालले बरोडासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले एसएमएस फ्रेन्डसिप कपको आफ्नो दोस्रो खेलमा आज बरोडा क्रिकेट एसोसिएसनसँग प्रतिस्पर्धा गर्दै छ । भारत गुजरातको भापीस्थित साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ मिनेटमा  सुरु हुनेछ । 

रोहित पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो जितका लागि मैदान उत्रनेछ । आफ्नो पहिलो खेलमा नेपालले गुजरातमाथि ८ विकेटको सहज जित हात पारेको थियो । पहिले ब्याटिङ गरेको गुजरातलाई नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै ९८ रनमा अल आउट गरेका थिए । 

गुल्सन झाले चार, करण केसीले  तीन र सोमपाल कामीले एक विकेट लिएपछि गुजरात धराशायी बनेको थियो । लक्ष्य पछ्याउँदा रोहित ३३ र अनिल साह ३२ रनमा अविजित रहेका थिए ।  बरोडा आज पहिलो जितको खोजीमा छ । उसले अघिल्लो खेलमा गुजरातसँग ५ विकेटको हार बेहोरेको थियो । 

सुरुवाती ब्याटिङ गरेको बरोडाले १ सय ४२ रन जोडेको थियो । उसका लागि परीक्षित पाटिडारले सर्वाधिक ३७ र अभिमन्युसिंह राजपुतले ३२ रन बनाएका थिए । गुजरातले १८ ओभर पाँच बलमा जित हात पार्दा हेमन्त पुन्डे र ध्रुव पटेलले दुई- दुई विकेट लिएका थिए । 

नेपाल एसीसी मेन्स प्रिमियर कप र टी- ट्वेन्टी विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.