काठमाडौं । नेपालले वाफ महिला फुटबल च्याम्पियनसिपको उपाधिका लागि आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । फाइनलमा स्टार स्ट्राइकर सावित्रा भण्डारीले भने खेल्ने छैनन् ।
साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह स्टेडियममा हुने खेल नेपालको समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । नेपाल र जोर्डन जारी प्रतियोगितामा अपराजित छन् । नेपालले फाइनल यात्रा तय गर्ने क्रममा सिरिया, इराक, प्यालेस्टाइन र लेबनानलाई पराजित गरेको थियो । सेमिफाइनलमा लेबनानसँग एक-शून्यले पछि परेको नेपाललाई सावित्राले खेलमा फर्काएकी थिइन् । दोस्रो हाफको इन्जुरी समयमा प्रीति राईले सुन्दर गोल गर्दै नेपाललाई उपाधि नजिक पुर्याएकी हुन् । सेमिफाइनल सकिएलगत्तै सावित्रा भने क्लबमा फर्किएकी छन् ।
उनको अनुपस्थिति विपक्षी टिमका लागि फाइदाजनक रहनेछ । उनी यो प्रतियोगिताको उच्च गोलकर्ता पनि हुन् । सावित्राले कुल ९ गोल गरेकी छन् । दोस्रो स्थानमा रहेकी जोर्डनकी मेसाको पाँच गोल छ । जोर्डनले फाइनल प्रवेश गर्ने क्रममा प्यालेस्टनलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।