काठमाडौं । पेरिसमा यसै वर्ष हुने गृष्मकालीन ओलम्पिकको सबैभन्दा महँगो प्रोजेक्ट ‘हिटेड वाटर स्विमिङ पुल’ सञ्चालनमा ९० प्रतिशतभन्दा धेरै नवीकरणीय ऊर्जा प्रयोग गरिने भएको छ ।
यो स्विमिङ पुल ओलम्पिक क्षेत्रमा बनाइँदै गरेका दुई संरचनामध्येको एक महत्त्वपूर्ण संरचना हो । परियोजनाका अध्यक्ष प्याट्रिक ओलियरका अनुसार पुलको छानामा चार हजारभन्दा धेरै सोलर प्यानल जडान गरिएको छ । यसले त्यहाँ उपलब्ध पानीलाई २७ डिग्री सेन्टिग्रेडसम्म तताउन सक्नेछ ।
तापक्रमलाई मिलाउन कन्केभ किरण र भेन्टिलेसन प्रयोग गरिनेछ । पाँच हजार दर्शक क्षमताको प्यारापिट बनाइएको छ । जसबाट आयोजनापछि दुई हजार सिट निकालिने आयोजकले जनाएको छ । यो भेन्युमा आर्टिस्टिक स्विमिङ र डाइभिङका प्रतियोगिता पनि हुनेछन् ।
यो पुलमा गत डिसेम्बरमा पानी भरिएको थियो । त्यसपछि वाटरटाइट र फिल्टर प्रणालीको परीक्षण गरिएको थियो । यो पेरिस ओलम्पिकमा प्रयोग हुने सबैभन्दा महँगो संरचना हो । यसको निर्माणमा १७५ मिलियन अमेरिकी डलर खर्च भएको छ । अब सुरक्षा जाँचपछि स्विमिङ पुल फेब्रुअरीको अन्तिममा आयोजकलाई हस्तान्तरण गरिनेछ ।