काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले बेस्ट प्लेयर अवार्ड २०२३ का लागि मनोनयनमा परेका फाइनालिस्ट खेलाडीको घोषणा गरेको छ । लियोनल मेस्सी, केलियन एमबाप्पे र एर्लिङ हालान्ड फिफा २०२३ को उत्कृष्ट पुरुष खेलाडीको अवार्डका लागि अन्तिम मनोनयनमा परेका छन् ।
महिला तर्फको सूचीमा कोलम्बियाकी लिन्डा क्यासेडोसँगै २०२३ को विश्वकप विजेता आइटाना बोनमाटी र स्पेनकी जेनिफर हर्मोसो छन् । पुरुषतर्फ मनोनयनमा परेका नर्वेजियन स्टार हालान्डले म्यानचेस्टर सिटीलाई गत सिजन च्याम्पियन्स लिग, इंग्लिस प्रिमियर लिग र एफए कपसहित तीन प्रमुख उपाधि जिताएका थिए ।
त्यसैगरी, मेस्सीले सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप जिताउन मुख्य भूमिका खेलेका थिए । त्यो सफलतापछि, उनले फरवार्ड एम्बाप्पेसँगै पेरिस सेन्ट जर्मेनबाट लिग वानको उपाधि जितेका थिए ।
पछिल्लो सिजन मेजर लिग सकर टोली इन्टर मियामीबाट खेलिरहेका उनले त्यो क्लबबाट पनि ऐतिहासिक घरेलु उपाधि जिताएका छन् । अब फिफा वर्ष खेलाडी विजेताको घोषणा एक समारोहबीच जनवरी १५ मा लन्डनमा हुनेछ ।