जय ट्रफी : पहिलो दिन ब्याटरले दबाब बनाउन नसक्दा स्पिनर हाबी

पुस २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
जय ट्रफी : पहिलो दिन ब्याटरले दबाब बनाउन नसक्दा स्पिनर हाबी

काठमाडौं । जय ट्रफी मेन्स एलिट कप क्रिकेटको पहिलो दिन स्पिनरले उत्कृष्ट प्रदर्शन गर्दा ब्याटरले भने रनका लागि संघर्ष गरेका छन् । ब्याटरहरूले धैर्यता देखाउन नसक्दा खेलमा स्पिनर हाबी भएका हुन् ।

आज भएका दुई खेलमा कुल २९ विकेट खस्दा २२ विकेट स्पिनरको नाममा रह्यो । पर्साको वीरगन्जस्थित नारायणी क्रिकेट ग्राउन्डमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल भएको थियो । विभागीय डर्बीमा पुलिसले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्यो । ललित राजवंशीले सात विकेट लिएपछि पहिलो इनिङसमा आर्मी ३४.४ ओभरमा १२१ रनमा समेटियो ।

एउटा टिमले पहिलो इनिङसमा ६० ओभर खेल्न पाउने नियम छ । इनिङसमा माथिल्लो क्रमका तीन ब्याटरलाई ललितले दोहोरो रन बनाउन दिएनन् । ओपनर सन्तोष कार्की १ रनमा आउट हुँदा त्रितराज दासले खाता खोल्न सकेनन् । अर्का ओपनर सोमपाल कामी पाँच रनमा मैदान बाहिरिए । कुशल मल्लले सर्वाधिक २५ रन जोडे । भीम सार्कीले २२ र बासिर अहमदले १२ रन बनाएका थिए । कप्तान विनोद भण्डारीले २१, साहव आलमले ११ रन बनाउँदा पवन खत्री १० रनमा अविजित रहे । विवेक यादव शून्यमा पभेलियन फर्किए ।

ललितले १४.४ ओभरमा ४७ रन खर्चिएर चार मेडन सहित सात विकेट लिएका हुन् । कुशल भुर्तेल, श्रवण यादव र राशिद खानले एक–एक विकेट लिए । आजै पहिलो इनिङस खेलेको पुलिसको पनि सुरूआत राम्रो भएन । पहिलो दिनको समाप्तिमा उसले सात विकेटको क्षतिमा १०३ रन बनाएको छ । ओपनर कुशल भुर्तेल र अर्जुन साउद गोल्डेन डक आउट भए । दुवैको विकेट साहबले लिएका हुन् । अमित श्रेष्ठले १८ रन बनाए भने कप्तान आरिफ शेख चार रनमा पभेलियन फर्किए । राशिद खानले १६ रन थपे । शंकर रानाले १३ रन मात्र बनाउन सके । साहवले पाँच विकेट लिँदा सोमपाल र पवन कार्कीले एक–एक विकेट लिएका छन् ।

पुलिस अग्रता लिनबाट १८ रनले पछि छ । गुल्सन झा ३४ र प्रेम तामाङ एक रन बनाएर क्रिजमा छन् । पुलिस र आर्मीको खेल भोलि यही स्कोरबाट सुरू हुनेछ ।

यता, जनकपुरमा मधेश प्रदेश र बागमती प्रदेश बीचको पहिलो दिनको खेल सकिँदा मधेश ६८ रनले अघि छ । रामजानकी बहुउद्देश्यीय रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको मधेशले खराब प्रदर्शन गर्यो । बागमतीका स्पिनरद्वय सन्दीप लामिछाने र सूर्य तामाङले उत्कृष्ट प्रदर्शन गरेपछि मधेश ३५.३ ओभरमा १०२ रन बनाउँदै अलआउट भयो ।

कप्तान हरिशंकर साह चार रनमा नन्दन यादवको बलमा आउट भएसँगै मधेशको विकेट जाने क्रम सुरू भएको थियो । त्यसपछि कुनै पनि ब्याटरबीच लामो साझेदारी हुन सकेन । मयन यादव २१, निरज यादव १२ र साहिल पटेल ६ रनमा आउट भए । हिमांशु दत्तले १० रन जोड्दा रूपेश सिंहले ६, विशाल पटेलले १६ र अभिषेक तिवारीले ११ रन मात्र बनाउन सके ।

सन्दीपले ५, सूर्यले ३, नन्दन र प्रतीश जीसीले एक–एक विकेट लिएका थिए । पहिलो इनिङमा बागमतीले १३ ओभरमा ३४ रन बनाएर दुई विकेट गुमाएको छ । आशुतोष घिरैया विशाल पटेलको बलमा खाता खोल्न नपाउँदै पभेलियन फर्किए । रीत गौतमलाई तीन रनमा रूपेश सिंहले आउट गरे ।

भोलि इशान पान्डे नौ रन र शुभ कंसकार २२ रन बनाएको अवस्थामा क्रिजमा आउने छन् । बागमतीले यही स्कोरबाट भोलिको खेल सुरू गर्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement