एसीसी अन्डर नाइन्टिन एसिया कप : नेपाल-पाकिस्तानबीच प्रतिस्पर्धा

मंसिर २१, २०८० |कान्तिपुर टीभी संवाददाता
एसीसी अन्डर नाइन्टिन एसिया कप : नेपाल-पाकिस्तानबीच प्रतिस्पर्धा

काठमाडौं । एसीसी अन्डर नाइन्टिन एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले भोलि पाकिस्तानको सामना गर्दै छ । यसअघि पाकिस्तानमा आयोजना गर्ने भनिए पनि सुरक्षाको कारण देखाउँदै प्रतियोगिता यूएईमा सारिएको थियो ।

प्रतियोगितामा सहभागी हुन नेपाली टोली दुई दिनअघि नै यूएई पुगिसकेको छ । प्रतियोगिताअन्तर्गत नेपालको पहिलो खेल भोलि (शुक्रबार) बिहान सवा ११ बजे सुरु हुनेछ । खेल ५० ओभरको हुनेछ ।

एसिया कपमा नेपालले कम्तीमा सेमिफाइनलसम्म पुग्ने लक्ष्य राखेको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले मंसिर २४ गते अफगानिस्तानसँग खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल भारतसँग खेल्ने तालिका छ ।

अन्डर नाइन्टिन एसिया कपमा नेपाल दुईपटक दोस्रो चरणमा पुगेको छ । सन् २०१६ मा समूहका दुई खेल जित्दै नेपाल सेमिफाइनलमा पुगेको थियो । त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो ।

प्रतियोगिताका लागि नेपालले घरेलु मैदानमा दुई साताको अभ्यास गरेको थियो । जगत टमाटाको टिममा रहेका गुल्सन झा, कप्तान देव खनाल, अर्जुन कुमाल र दीपेश कँडेलले उत्कष्ट प्रदर्शन गर्ने अपेक्षा छ ।

अन्डर नाइन्टिन एसिया कपमा आठ टोलीको सहभागिता छ । समान चार टिम रहेको समूह ए र बीबाट उत्कृष्ट दुई-दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.