सामाजिक सञ्जालको प्रभावमा नपरी मतदान गर्न लिङदेनको आग्रह

फाल्गुन १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
सामाजिक सञ्जालको प्रभावमा नपरी मतदान गर्न लिङदेनको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ ।

 काठमाडौंको निर्वाचन क्षेत्र नम्बर दुईको चुनावी अभियानलाई आज सम्बोधन गर्दै उहाँले फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न आग्रह गर्नुभएको हो । विशेषगरी युवापुस्तालाई लक्षित गर्दै उहाँले सामाजिक सञ्जालका सामग्रीको नभई वास्तविक धरातललाई हेरेर निर्णय लिन आग्रह गर्नुभयो । उहाँले यस पटकको निर्वाचन केवल एक सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभएको उल्लेख गर्दै देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताउनु भयो । उहाँले हाल देशको अस्तित्व नै संकटमा परेको बताउनु भयो । उहाँले  देशमा शान्ति, विकास र स्थिरताको लागि राप्रपा नै एकमात्र विकल्प भएको र राप्रपाले नयाँ र पुराना सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर अघि बढाउन सक्ने दाबी गर्नुभयो ।

नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट बाहिर जान थालेको उल्लेख गर्नुहुँदै उहाँले त्यसलाई रोक्न आगामी संसदमा राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित हुनुपर्ने आवश्यकता औँल्याउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.