रुकुमको समृद्धिका लागि नयाँ सपना पूरा गर्न तयार छु : जनार्दन शर्मा

फाल्गुन १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
रुकुमको समृद्धिका लागि नयाँ सपना पूरा गर्न तयार छु : जनार्दन शर्मा

रुकुम- प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं रुकुम पश्चिमका उम्मेदवार जनार्दन शर्माले रुकुमको समृद्धिका लागि ‘नयाँ सपना’ पूरा गर्न आफू तयार रहेको बताउनुभएको छ ।

चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विगतमा अधिकारका लागि लडिएको र अबको चरण पूर्ण रूपमा विकास र समृद्धिको हुने बताउनुभएको हो । उहाँले विगतमा ५० रुपैयाँ तिरेर फोन चार्ज गर्नुपर्ने अवस्थाबाट रुकुम अहिलेको सहज अवस्थामा आइपुगेको स्मरण गराउनु भयो । शर्माले रुकुममै ३ सय शैय्याको सुविधासम्पन्न अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने आफ्नो मुख्य योजना रहेको बताउनु भयो । यस परियोजनाले रुकुम मात्र नभई छिमेकी जिल्लाहरू जाजरकोट, सल्यान, रोल्पा र पूर्वी सुर्खेतका जनतालाई समेत लाभ पुर्‍याउने उहाँको दाबी छ । यसका लागि मध्यपश्चिम विश्वविद्यालयसँग समन्वय भइरहेको समेत उहाँले जानकारी दिनुभयो । युवाहरूको रुचिलाई ध्यानमा राख्दै क्रिकेट लगायतका खेल मैदान निर्माण गर्ने र खेलकुदलाई व्यवसायका रूपमा अघि बढाउने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले एक घर एक धाराको अभियानलाई पूर्णता दिने र सुशासनयुक्त समाज निर्माण गर्ने कुरामा जोड दिनुभयो ।

मतदाताहरूसँग मत माग्दै शर्माले आफूलाई जनताको ‘कामदार’ र जनतालाई ‘मालिक’ को संज्ञा दिनुभयो । —न्युज एजेन्सी नेपाल


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.