
काठमाडौं । लेग स्पिनर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट आफ्नो नाम फिर्ता लिएका छन् । उनले घरेलु मैदानमा हुने त्रिकोणात्मक टी-ट्वेन्टी आई शृङ्खला र विश्वकप एसिया क्षेत्रको छनोटअघि टिमबाट नाम फिर्ता लिएका हुन् ।
सन्दीपले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै तत्काल आफू कुनै खेल खेल्न सक्ने अवस्थामा नभएको बताएका हुन् । उनले सामाजिक सञ्जालमा भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिएको उल्लेख गरेका छन् ।
जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको पनि उनले बताएका छन् । क्रिकेटर सन्दीपले करिब एक वर्षदेखि नाबालिग बलात्कारको आरोपमा मुद्दा खेप्दै आएका छन् ।
नेपालले कात्तिक १ गतेदेखि घरेलु मैदानमा हुने त्रिकोणात्मक टी-ट्वेन्टी शृङ्खला खेल्दै छ । जसमा नेपाल, युएई र हङकङबीच प्रतिस्पर्धा हुने छ ।
त्रिकोणात्मक शृङ्खला लगत्तै नेपालले आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट खेल्ने छ ।
नेपालमै हुने छनोट कात्तिक १३ देखि २० गतेसम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदै छ । यसै प्रतियोगिताको तयारीका लागि नेपाली क्रिकेट टोलीले भारतको राजस्थान रोयल्सको एकेडेमीमा अभ्यास गरिरहेको छ ।