एसियाडका लागि टेनिसको तयारी कस्तो ?

आश्विन १, २०८० |विनयज्योति सापकोटा
एसियाडका लागि टेनिसको तयारी कस्तो ?

काठमाडौं । नेपाली टेनिस खेलाडी एसियाली खेलकुदका लागि अन्तिम तयारीमा छन् । सरकार र धेरै खेल संघले खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लगे । टेनिस खेलाडीले भने आफ्नै खर्चमा वैदेशिक अभ्यास गरेका छन् ।

कमजोर घरेलु संरचनाका कारण टेनिसले एसियाडमा अपेक्षित सफलता हासिल गर्न सकेको छैन । १९औं एसियाडमा नेपाली टेनिसको लक्ष्य कम्तीमा पनि एक खेल जित्नु हो ।

१३ वर्षअघिको गोन्जाउ एसियाडमा क्वार्टरफाइनल पुग्नु नेपालको अहिलेसम्मको सबैभन्दा उत्कृष्ट नतिजा हो । त्यसअघि वा पछि टेनिसमा नेपालले पहिलो चरण पनि पार गर्न सकेको छैन ।

कस्तो छ तयारी ?

एसियाली खेलकुदमा महिलातर्फ तीन र पुरुषतर्फ तीन गरी टेनिसका ६ खेलाडीले ६ विधामा सहभागिता जनाउँदैछन् । त्यसका लागि यी खेलाडीले असार १ गतेदेखि अभ्यास गरिरहेका छन् ।

घरेलु संरचना कमजोर भएकै कारण यस पटकको प्रतियोगितामा सफलता हात पार्न गाह्रो रहेको टेनिस खेलाडी अभिलाषा विष्ट गुनासो गर्छिन् । तर देशका लागि उपाधि जितेरै ल्याउने उनको भनाइ छ ।

उनी भन्छिन्, ‘यो पटक उच्च वरीयतामा रहेका खेलाडीसँगबाट अनुभव लिन्छु । चार वर्षभित्र चाहिँ एसियन गेममा केही गर्छु ।’

प्रशिक्षक सूर्यभूषण बज्राचार्यले खेलाडीलाई प्राविधिक, रणनीतिक, शारीरिक र मानसिक रुपमा खेलका लागि तयार पारिरहेका छन् । तर छोटो समयमा खेलाडीलाई सबै दृष्टिकोणले तयार पार्न सजिलो छैन । त्यसमाथि खेलाडीहरु आफैं वैदेशिक प्रशिक्षणमा गइरहेका छन् । प्रशिक्षकले जम्मा एक हप्ता खेलाडीलाई एकसाथ राखेर अभ्यास गराउँदै छन्।

बज्रचार्य भन्छन्, ‘कति खेलाडी विदेशमा गएर अभ्यास गरे । समय अभावले सबैले राम्रो एक्सपोजर पाएन तर एसियन खेलका लागि खेलाडीका अभिभावकले आफ्नोतर्फबाट सबै गर्नुभएको छ ।’

टेनिसको अभ्यास र खेलहरुमा खेलाडीका अभिभावक नै उपस्थित भएर हौसला दिने गरेका छन् । टेनिस कोर्टमै भेटिएकी खेलाडी अभिलाषाकी आमा प्रमिता विष्ट भन्छिन्, ‘टेनिस महासागर हो । मेरो छोरीको सपना हो । पूरा गर्न म हरेक कुरामा सहयोग गर्न प्रयास गर्छु ।’

‘टेनिसप्रति धारणा परिवर्तन गर्नुपर्छ’

पहिलो, सरकारले टेनिस खेललाई हेर्ने धारणा नै परिवर्तन गर्नुपर्ने खेलाडीको गुनासो छ । अन्तर्राष्ट्रिय समुदायमा टेनिस खेलाडीले देशको नाम उच्च गर्ने सक्ने सम्भावना भए पनि खेल्न कोर्टकै अभाव छ ।

कोर्टकै अभावले अहिसम्म टेनिसमा नेपालले कुनै उपाधि नजितेको खेलाडीको आरोप छ ।

दोस्रो, टेनिस धनाढ्य परिवारको खेल हो भन्ने गरिन्छ । तर यसैमा भविष्य देखेर लागेका खेलाडी यो भनाइलाई बढवा दिनु नहुने बताउँछन् ।

नेपाली पुरुष टेनिस खेलाडीको शीर्ष वरीयतामा रहेका प्रदीप खड्का भन्छन्, ‘म पनि मध्ययम वर्गीय परिवारबाट आएको हुँ । यस्ता भनाइहरुलाई अस्वीकार गर्दै अघि बढ्नुपर्छ ।’ 


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।