सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : सद्‌भाव र सुवासलाई तीन स्ट्रोकको अग्रता

जेष्ठ २४, २०८० |कान्तिपुर टीभी संवाददाता
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप : सद्‌भाव र सुवासलाई तीन स्ट्रोकको अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी सद्‌भाव आचार्य र सुवास तामाङ संयुक्त रुपमा शीर्ष स्थानमा छन् ।

गोकर्ण गल्फ क्लबमा सद्‌भाव र सुवासले ३६ होलको समाप्तिमा समग्रमा ९-अन्डर १३५ को स्कोरमा नीरज तामाङ र शुक्रबहादुर राईलाई तीन स्ट्रोकले पछि पारेका हुन् । यस्तै राष्ट्रिय टिमका खेलाडी सद्‌भावले ७-अन्डर ६५ को उत्कृष्ट स्कोर कार्ड बनाउँदै शीर्ष स्थानमा उक्लिए । सुवासले भने इभन-पार ७२ मा दोस्रो दिनको खेल सकाउँदा शीर्षस्थान बाँडे । दिनकै उत्कृष्ट कार्ड बनाउने क्रममा नीरज तामाङले ८-अन्डर ६४ को स्कोर बनाए । यो स्कोरमा नीरज र डिफेन्डिङ च्याम्पियन शुक्रबहादुर राईले संयुक्त रुपमा तेस्रो स्थान बाँडे । शुक्रले ५-अन्डर ६७ मा दोस्रो दिनको खेल सकाए । दुवैले समग्रमा ६-अन्डर १ सय ३८ स्कोर गरे ।

यसैगरी जयराम श्रेष्ठ र शिवराम पौडेल संयुक्त रुपमा सातौं स्थानमा छन् । दुवैले आज इभन-पार ७२ को कार्ड बनाए । समग्रमा २-अन्डर १४२ सहित सूर्यप्रसाद शर्मा नवौं स्थानमा छन् । इभन-पार ७२ सहित समग्रमा १-अन्डर १४३ सहित दिनेश प्रजापति दशौं स्थानमा रहे ।

एमरच्योरतर्फ टासी छिरिङ तेस्रो स्थानमा छन् । उनले २-अन्डर ७० सहित समग्रमा १४४ स्कोर गरेका छन् । यसैगरी वाङचेन ढोन्डुप, भरत थापा मगर र प्रज्वल गुरुङसहित ६ एमरच्योर खेलाडीले पनि कट बनाए । युवा एमेच्योर सद्‌भावले दिनको सुरुवात बर्डीबाट गरे ।

यसपछि तेस्रोदेखि छैटौं होलसम्म लगातार चार होल र नवौं होलमा एक-एक सट बचाए । सातौं होलको बोगीले फ्रन्ट नाइन ५-अन्डर ३१ मा पूरा गरे । त्यसपछि १३औं र १५औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन २-अन्डर ३४ मा समापन गरे ।

प्रतियोगिताअन्तर्गत धरानका प्रोफेसनल गल्फर नीरज तामाङले दिनकै उत्कृष्ट कार्ड निकाल्ने क्रममा फ्रन्ट नाइनमा लोभलाग्दो प्रदर्शन गरे । उनले तेस्रोदेखि नवौं होलसम्म लगातार सात बर्डीको सफलता प्राप्त गरे ।

यसैगरी डिफेन्डिङ च्याम्पियन शुक्रले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए । प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालद्वारा आयोजित तथा सूर्य नेपाल प्रालिद्वारा प्रायोजित प्रतियोगितामा ४१ प्रोफेसनल र ९ एमेच्योर गरी कुल ५० खेलाडीको सहभागिता छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.