मलेसियाविरुद्धको दोस्रो टी-२० मा नेपाली महिला क्रिकेट टोलीको सहज जित

जेष्ठ १६, २०८० |कान्तिपुर टीभी संवाददाता
मलेसियाविरुद्धको दोस्रो टी-२० मा नेपाली महिला क्रिकेट टोलीको सहज जित

काठमाडौं । मलेसियाविरुद्धको दोस्रो टी–ट्वान्टी खेलमा नेपाली राष्ट्रिय महिला टिमले सहज जित हात पारेको छ । बांगीस्थित वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ७ विकेटले पराजित गरेको हो ।

मलेसियाले नेपाललाई ९८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको नेपालले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर १०३ रन बनायो । नेपालको लागि रुविना क्षेत्रीले अविजित रहँदै सर्वाधिक २९ रन बनाइन् । यस्तै कविता कुँवरले २६ तथा सीता रानामगरले २३ रनको योगदान गरिन् ।

विन्दु रावलले १७ रन बनाइन् । सम्झना कुमारी खड्का २ रनमा अविजित रहिन् । मलेसियाकी आईसा एलिसा, निक नुर एटिला र विनिफ्रेड आन्नेले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो । पहिलो खेलमा नेपालविरुद्ध जित हात पारेको मलेसियाले दोस्रो खेलमा भने राम्रो प्रदर्शन गर्न सकेन । मलेसियाकी मास एलिसा यास्मिनले सर्वाधिक २८ रन बनाइन् । ३४ बलको सामना गरेकी उनले २ चौका प्रहार गरिन् । यस्तै ओपनर ब्याटर विनीफ्रेड अन्ने र वान जुलिया वान मोहद रोस्दीले समान २०-२० रन बनाए । आइन्ना हामिजाह हासिम १४ रनमा अविजित रहिन् भने अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

नेपालकी रुविना क्षेत्रीले २ विकेट लिइन् भने कविता कुँवर र इन्दु बर्माले १-१ विकेट लिए । आजको खेलमा रुविना प्लेयर अफ दि म्याच घोषित भइन् ।

पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल पाँच विकटले पराजित भएको थियो । नेपालको पराजयमा खराब ब्याटिङ मुख्य कारण बन्यो । टस हारेर पहिले ब्याटिङमा आएको नेपालले ५० रनमा सबै विकेट गुमाएपछि आलोचित भएको थियो । आजको खेलमा भने नेपालले सुधारिएको प्रदर्शन गरेको थियो ।

मलेसियाले ५१ रनको समान्य लक्ष्य १३ ओभर २ बलमा पाँच विकेट गुमाएर पूरा गरेको थियो । नेपालले मलेसियासँग इतिहासमै पहिलो पटक पराजय व्यहोरेको थियो ।

यसअघि नेपालले सन् २०२२ मे मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युगान्डासँग पाँच खेलको टी-ट्वान्टी आई सिरिज खेलेको थियो ।

नेपालले सिरिज ३-२ ले गुमाएको थियो । नेपाली राष्ट्रिय महिला सिनियर टिमका लागि मलेसिया भ्रमणमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्ने सुनौलो अवसर रहेको छ ।

यस प्रतियोगिताको कान्तिपुर टिभी एचडी, कान्तिपुर सिनेप्लेक्स एचडी, कान्तिपुर टिभी डटकमबाट प्रत्यक्ष प्रसारण हुँदै आएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement