काभा च्यालेन्ज कपको सेमिफाइनलमा नेपालले भोलि कजाकस्तानको सामना गर्ने

जेष्ठ ११, २०८० |खेल ब्युरो
काभा च्यालेन्ज कपको सेमिफाइनलमा नेपालले भोलि कजाकस्तानको सामना गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले अहिले घरेलु कोर्टमा काभा च्यालेन्च कप खेलिरहेको छ ।

समूहका सुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको नेपाल भारतसँग भने चुक्यो । तुलनात्मक रुपमा कमजोर टिमलाई सहजै पराजित गरे पनि नेपालको असली परीक्षा भारतसँगै थियो । आधिकारिक प्रतियोगितामा दक्षिणी छिमेकीलाई हराउन नसकेको नेपाली टिममा एक्सपोजर अभाव प्रस्ट देखियो । मुख्य प्रशिक्षक यान दि ब्रान्दको बुझाइमा सबैभन्दा पहिले सर्भिसमा सुधार आवश्यक छ ।

पहिलो सेटमा भलिबल खेल्नै बिर्सिए जस्तो प्रदर्शन गरे पनि खेलमा फर्कनु सकारात्मक भएको प्रशिक्षकको विश्लेषण छ ।

२०७८ सालपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको महिला भलिबल टिमले समूहका सुरुवाती दुई खेलमा जित हात पार्यो । किर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको नेपाललाई समूह विजेता बन्न भने भारत तगारो बन्यो । भारतले ३-१ सेटमा नेपाली टिमलाई पराजित गर्दै घरेलु समर्थकलाई निराश बनायो ।

पहिलो सेटमा भलिबल खेल्नै बिर्सिए जस्तो प्रदर्शन गरे पनि खेलमा फर्कनु सकारात्मक भएको प्रशिक्षकको विश्लेषण छ । भारतसँगको खेललाई नेपाली टिमको स्तर मापनका रुपमा हेरिएको थियो । २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा भारतसँग पाँच सेटमा पराजित भएपछिको यो पहिलो भेट हो । जसमा सर्भिसमै बढी अंक गुमाउनु पर्यो ।

नेपालले शुक्रबार सेमिफाइनलमा समूह ए को विजेता कजाकस्तानसँग प्रतिस्पर्धा गर्दैछ । सहभागी ८ टिममध्येकै बलियो मानिएको कजाकस्तानले अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न भने सकेको छैन । समूह चरणमा शत प्रतिशत नतिजा निकालेको कजाकस्तानसँग नेपालले पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो ।

गल्ती सुधार्दै दुई पटकको सेन्ट्रल जोन च्याम्पियन नेपाल फाइनलमा फेरि भारतसँग खेल्न चाहन्छ । शुक्रबार नै अर्को सेमिफाइनलमा भारत र उज्वेकिस्तान आमने सामने हुनेछन् ।