सहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइज-मनाङ बराबरीमा रोकिए, फ्रेन्ड्ससँग सातदोबाटो ४-० ले पराजित

जेष्ठ ११, २०८० |कान्तिपुर टीभी संवाददाता
सहिद स्मारक ए डिभिजन लिग : चर्च ब्वाइज-मनाङ बराबरीमा रोकिए, फ्रेन्ड्ससँग सातदोबाटो ४-० ले पराजित

काठमाडौं । सर्वाधिक आठपटकको लिग च्याम्पियन टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाइजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दूरी बढाउने मौका गुमाएको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीले शीर्ष स्थानको चर्च ब्वाइजले दोस्रो स्थानको मच्छिन्द्रसँग दूरी बढाउने मौका गुमाएको हो । शीर्ष स्थानको मच्छिन्द्रको २० खेलमा ३७ अंक छ । जुन दोस्रो स्थानको साबिकको विजेता मच्छिन्द्र क्लबको भन्दा २ अंक बढी हो ।

दोस्रो स्थानको मच्छिन्द्रले बुधबार तेस्रो स्थानको जावलाखेल युथ क्लबबिरुद्ध गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो । पछिल्लो खेलमा चर्च ब्वाइज हिमालयन शेर्पासँग १-१ को बराबरीमा रोकिएको थियो । मनाङ २० खेलमा २४ अंकसहित ११औं स्थानमा छ । लगातार जितविहीन रहँदै आएको मनाङ रेलिगेसन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लब र एफसी खुमलटारभन्दा मात्र ३ अंकले अघि छ ।

फ्रेन्ड्स ४-० ले विजयी

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत बिहीबार एन्फा मुख्यालयमा भएको अर्को खेलमा फ्रेन्ड्सले सातदोबाटो युथ क्लबलाई ४-० गोल अन्तरले हराएको हो । फ्रेन्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे । राफिक अमिनु र प्रकाश बुढाथोकी एक/एक गोल गरे ।

खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५५औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेन्ड्सलाई २-० को अग्रता दिलाएका थिए । खेलको ८७औं मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेन्ड्सलाई ३-० को अग्रता दिलाउन सफल भए ।

त्यसपछि खेलको ९०औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४-० को जित निश्चित गरे । यससँगै फ्रेन्ड्सले जारी लिगमा छैटौं जित निकालेको छ । फ्रेन्ड्सले २१ खेलमा २४ अंक जोडेको छ । फ्रेन्ड्स १२औं स्थानमा रहेको छ । सातदोबाटोले २१ खेलमा २९ अंक जोडेको छ । सातदोबाटो चौथो स्थानमा छ ।