बिस्फोटले खोस्यो फुटबलर अहमदको सपना, अहिले बास्केटबलमा रमाउँदै

चैत्र १७, २०७९
बिस्फोटले खोस्यो फुटबलर अहमदको सपना, अहिले बास्केटबलमा रमाउँदै

बग्दाद । इराकका अहमद नासरका लागि फुटबल सबैथोक थियो । शीर्ष डिभिजनको क्लबमा आबद्ध अहमदले आफ्नो फुटबल करियरलाई लिएर धेरै सपना देखेका थिए । उनको लक्ष्य थियो उत्कृष्ट स्ट्राइकर बन्ने । तर उनको करियर फुटबलबाट पारा बास्केटबल खेलाडीमा परिणत भयो ।

सन् २००७, इराकी प्रिमियर लिगको सिजन सुरु हुनै लागेको थियो । अहमद र उनका टिम मेट इहाब करिम नयाँ फुटबल बुट किन्न बगदादको एक पसलमा गए । तर दुवैजनाले नयाँ बुट लगाएर फुटबल खेल्न कहिल्यै पाएनन् । सिजनमा उत्कृष्ट प्रदर्शन गर्ने योजना बुनेका टिम मेट केहीबेरमै सधैंका लागि छुट्टिए । उनीहरु सामान किन्न गएको ठाउँमा ठूलो बम विस्फोट भयो । अहमदले आफ्ना दुवै खुट्टा र साथी करिमलाई गुमाए ।

त्यो घटनाले अहमदको जीवनलाई पूर्ण रुपमा परिवर्तन गरिदियो । सन् २००३ मा तत्कालीन इराकी राष्ट्रपति सद्दाम हुसेनलाई सत्ताच्यूत गर्ने र त्यहाँ रहेका भनिएका आमविनाशकारी हतियार नष्ट गर्ने उद्देश्यका साथ अमेरिकाले आक्रमण सुरु गरेको थियो । जसका कारण राजधानी बग्दादलगायत धेरै सहर तहसनहस भए । स्यान्डविच खान रोकिएका अहमद र करिम बम विस्फोटमा परेका थिए ।

इराकीहरुले अहिलेसम्म त्यतिबेलाको विध्वंसको असर भोगिरहेका छन् । २००७ मा हिंसा उच्चतम् विन्दुमा पुग्दा महिनामा ज्यान गुमाउको संख्या तीन हजारसम्म पुगेको तथ्यांक छ । त्यही हिंसात्मक समयको एक पीडित अहमद हुन् । उनीजस्ता धेरै युवाले ज्यान गुमाए, हजारौंको संख्यामा इराकीले देश छोडे । कैयौं युवा जात र धर्मका नाममा भएको हिंसाको सिकार बने ।

अकल्पनीय घटनाको साक्षी बनेका अहमद महिनौंसम्म घरबाट बाहिर निस्किएनन् । साथीहरुलाई भेट्न सकेनन् । व्यावसायिक फुटबल खेलाडी बन्ने उद्देश्य राखेका अहमदको मिल्ने साथीसँगै सपनाको पनि अवसान भयो । तर उनीभित्र रहेको एथ्लिट भने जीवितै थियो । सोही कारण इराक फुटबल संघका पूर्वअध्यक्षको प्रेरणामा अहमदले २००९ मा पारा बास्केटबल खेल्न सुरु गरे ।

अहिले पनि उनी राम्रोसँग हिँडडुल गर्न सक्दैनन् तर बास्केटबल अभ्यास छुटाउँदैनन् । खुट्टा गुमाउनुभन्दा बढी पीडा साथी गुमाउनुमा छ उनलाई । त्यसैले अहमद बम बिस्फोट भएको स्थानमा १६ वर्षसम्म गएनन् । अल सेन्ना क्लबबाट फुटबल खेल्ने अहमद हिजोआज खुसी छन् ।

जुनमा हुने हृविलचेयर बास्केटबल विश्व च्याम्पियनसिप खेल्ने इराकी टिममा सबै धर्मका खेलाडी छन् । आफूले पहिले खेल्ने गरेको फुटबल मैदानमा पुग्दा उनलाई जुरुक्कै उठेर सर्ट प्रहार गरौं जस्तो लाग्छ । तर परिस्थितिको कठोर प्रहारबाट पनि हिम्मत नहारेका अहमद भन्छन्- सारा दु:खलाई बिर्सिएर अघि बढ्नुनै जीवन हो ।